काठमाडौंको आकाशमा तुवाँलो, भिजिविलिटी नपुग्दा हवाई सेवा अवरुद्ध

काठमाडौंको आकाशमा तुवाँलो, भिजिविलिटी नपुग्दा हवाई सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ । तुवाँलोका कारण भिजिविलिटी नपुग्ने भएपछि शुक्रबार दिउँसो २ : १० देखि उडान बन्द गरिएकोबारे विमानस्थलले सूचना जारी गरेको छ ।
विमानस्थलले जारी गरेको सूचना अनुसार अहिले भिजिविलिटी हजार मिटरको दूरीसम्म मात्रै रहेको छ । उडान बन्द गरे लगत्तै काठमाडौंका लागि उडान भरेका आन्तरिक एयरलाइन्सहरु सुरक्षित स्थानतर्फ मोडिएका छन् । पोखराबाट काठमाडौंका लागि उडान भरेका यति एयरलाईन्स जनकपुर अवतरण गरेका छन् भने, नेपालगञ्जबाट उडान भरेका बुद्ध एयर भैरहवामा अवतरण गरेको उक्त सूचनामा उल्लेख छ ।
आकाश नखुलेपछि हङकङबाट काठमाडौंका लागि उडान भरेको अन्तर्राष्ट्रिय क्याथे प्यासिफिक अपरान्ह ३ बजेदेखि आकाशमा होल्डमा बसेको छ । साथै दिल्लीबाट उडान भरेको नेपाल एयरलाईन्स, एयर इन्डिया र साउदीबाट आएको हिमाल एयरलाइन्स पनि आकाशमै रहेको छ ।