ककपिट बाहिरका पाइलट विकल
पहिले प्रेमको कुरा ।
कुनै बेला थियो,जतिबेला चितवनमा फ्लाइङ स्कूल शिवानी एयर धेरैको आकर्षणमा थियो । यो १६ वर्षअघिको कुरा भयो । पाइलट बन्ने सपनाले जनकपुरका विकल झा पनि यता आइपुगे । तर, पाइलट प्रशिक्षण सकिनै लाग्दा शिवानीका संचालक सिवेन्द्र बस्नेत फरार भए । अनि त विकल पनि विलखबन्दमा परे । तर, ठिक यही समयमा भइदियो के भने चितवनकै रैथाने ममिता पौड्यालसँग चिनजान भयो । जनकपुरका झा अनि चितवनकी पौड्याल । दुईबीचको चिनजान कतिबेला मायामा परिणत भयो दुवैलाई पत्तै भएन । दुबैजना काठमाडौं पुगेपछि चितवनमा लाएको माया पिरती झनै झाङ्गियो । बिहे त भएको थिएन,तर दुई ज्यान एक भइसकेको थियो ।
११ वर्षअघि दुईजनाले काठमाडौंको एक मन्दिरमा सँगै जीउने/मर्ने भनेर एकआपसमा बाचाकसम खाइसकेका थिए । तर, कस्तो अचम्म भने यति हुँदाहुँदै पनि दुबै जना आ–आफ्नो घरमा गएर बसे । कुरा अलि अर्कै थियो,किनकी हाम्रो सामाजिक संरचनामा देखिएको खोटको प्रभाव यहाँ पनि थियो । कुरा भूगोलको थियो । कुरा नश्लको थियो । तर, यी दुई जोडीको हकमा भने घरसँग विद्रोह नै गर्नुपर्ने वा प्रेमको नाममा कुनै क्रान्ति गर्नु पर्ने परिस्थिती बनेन् । दुवै परिवार समझदार देखिए । ८ वर्षअघि दुवैको प्रेमले वैवाहिक मान्यता पायो । ममितालाई विकलको जनकपुर घरमा भित्रयाइयो । त्यहाँ परम्परा अनुसार औपचारिक विवाह भयो।
२०१५ मा पहिलो छोरो को जन्म भयो । २०१८ मा दुई छोरी माया र मेरिस्का जुम्लिया सन्तानका रुपमा जन्मिए । श्रीमती हस्पिटालिटि क्षेत्रकी हुन्।
यी त भए प्रेमका कुरा । प्रेमका उपलब्धिका कुरा।
विकलले जीवनमा दुईवटा कुरासँग प्रेम गरे । पहिलो ममिता दोस्रो पाइलट पेशा।
विकलको पढाई ७ कक्षासम्म जनकपुरमै भयो । त्यसपछि शान्तिसुधा विद्यालय, दाङ, घोराहीबाट २०५८ सालमा एसएलसी दिए।
काठमाडौं गएर पढ्ने योजना थियो तर, भिनाजुले त्यतै कोसिस गर्नु भनेपछि दाङमै पढे । एसएलसीपछि काठमाडौं आएर सीसीआरसीबाट प्लस टुमा साइन्स पढे । घरमा बुबा आमाको रहर छोरा पढेर डाक्टर बनोस भन्ने भएकोले साइन्स पढे।
प्लस टुपछि किन किन उनलाई पाइलट पढ्ने सोच आयो । घरमा सल्लाह गरे । तर, मनाउन सकेनन् । विस्तारै–विस्तारै घरमा बुवा आमालाई फकाई छाडे । पाइलट कोर्सका लागि भारत हान्निए । त्यहाँ उनले ब्याचलर पनि गरे । द्धन्दकालको समय थियो त्यो,बैंक क्लियरेन्स आउन गाह्रो हुन्थ्यो । यसपछि उनी फिलिपिन्स गएर पाइलट ट्रेनिङ सकेर नेपाल फर्किए । भारत,नेपाल र फिलिपिन्समा पाइलट अध्ययन गर्दा ६० लाख भन्दा बढी खर्च लाग्यो।
पढेर नेपाल आएपछि धेरै ठाउँमा जागिरका लागि आवेदन दिए । तर, सफल भएनन् । भइदियो कस्तो भने अन्तरवार्तामा उत्तिर्ण भए पनि सुरक्षा निकायमा जागिर माग्दा उनीसँग उल्टो घुस मागियो । घुस दिएर के जागिर खानु ! सायद उनले यस्तै सोचे । विरक्तिएका उनी यसपछि लण्डन पुगे,उच्च अध्ययनका लागि।
लण्डनबाट उड्ययन व्यवस्थापनमा मास्टर्स सकेपछि विकलसँग दुई विकल्प थिए । पढाई राम्रो भएकोले बेलायतमै बसेर काम गर्ने राम्रो प्रस्ताव पनि उनलाई आएको थियो । तर, उनले नेपाल फर्किएर केही गर्ने सोच राखे ।
२०१३ मा नेपालको हवाई विभागबाट पनि जागिरको प्रस्ताव आयो । करारमा राख्ने कुरा भयो । मासिक २५/३० हजार रुपैंयाको तलबमा काठमाडौंमा ब्यवहार चलाउन मुश्किल थियो । जागिरको यो प्रस्तावमा उनको मन अड्न सकेन । यसपछि उनी पुगे सिम्रिक एयरलाइन्समा । यो क्षण उनको जीवनको महत्वपूर्ण मोड थियो सेफ्टी ब्यवस्थापक थिए यहाँ उनी । उनका लागि सिम्रिकको यो करियर विश्वविद्यालय जस्तै थियो ।
जीवनमा मोड पनि कति कति । एकपछि अर्को,अर्कोपछि फेरि अर्को । विकलको जीवनमा पनि त्यही भयो । एक वर्षदेखि सिम्रिकमा रमाइरहेका उनलाई सौर्य एयरलाइन्सबाट जागिरको प्रस्ताव आयो । आर्थिक रुपले केही मद्घत हुन्छ कि भन्ने लागेर पनि होला,उनले आएको प्रस्ताव सहर्ष स्विकार गरे । यसबीचमा विकल हवाइ क्षेत्रमा रमाउन थालिसकेका थिए । हवाई सुरक्षासम्बन्धी धेरै प्रशिक्षण लिने मौका पाए । काम धेरै भयो उनको तर्फबाट । तर, आर्थिक रुपमा चित्त बुझ्दो भएन । आम्दानी थोरै,खर्च धेरै । आफूले जाने सिकेको कुरा पूर्णरुपमा व्यवहारमा उतार्न नपाउँदा खिन्नता लाग्नु पनि स्वभाविक थियो।
विकलको जीवनमा अर्को मोड आयो । कुनै बेला बेलायतमा सँगै पढेको एक भारतीय साथीमार्फत २०१५ मा ओमनको फ्याकल्टी अफ एभिएसन मोडर्न कलेज अफ बिजनेस एण्ड साइन्समा पढाउनका लागि प्रस्ताव आयो । उनले प्रस्ताव स्विकार गरे। अन्तर्वातामा पनि छनोट भए । भिसा आयो ओमन पुगे ।
विकल विगत ६ वर्षदेखि ओमनमा रहेको मोर्डन कलेज अफ बिजनेश एण्ड साइन्स विश्वविद्यालयमा विमान चालकहरुलाई रिक्स म्यानेजमेन्ट र अपडेटिङ कोर्ष पढाउँछन् । ओमनमै अध्यापन गराउने क्रममा दर्जनौ देशहरुमा हवाई सम्बन्धी सेमिनारमा सहभागी भइसकेको छन् । नेपालको हवाइ क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने बारेमा उनले अनुसन्धान पनि गरिरहेका छन । हाल उनी यही विषयमा स्पेनको कुनै विश्वविद्यालयमा अनलाइनमार्फत पीएचडीको अध्ययनमा जुटेका छन् । केही–केही बेला स्पनेमै पुग्नुपर्छ ।
परिवारसहित ओमनमा बसिरहेका विकलको त्यहाँ मान छ,सम्मान छ । तर, नेपाल फर्किदा विमानस्थलमा हुने व्यवहारले भने उनको मन खिन्न हुँदो रहेछ।
खाडीबाट आउने व्यक्तिहरुलाई विमान कर्मचारीले तल्लो स्तरको व्यवहार गर्छन्। यसले विकलको मन कुडिने रहेछ।
विकलले अध्यापन गराउने कलेज मध्यपूर्वकै उम्दा मानिन्छ् । युरोप,अफ्रिकादेखि साउदी ,कतार,इजिप्टलगायत मुलुकबाट पढ्न आउने विद्यार्थीका गुरु ३५ वर्षीय विकलले पाइलट बन्ने सपना त पूरा गरे । जहाज उडाउने अवसर आएपनि परिवारले नचाहेपछि उनी यो बाटो लागेनन् । ककपिटमा नबसेका यी पाइलट हवाई सुरक्षा र त्यसको व्यवस्थापनमा दक्ष छन् ।
२०१६ देखि एनआरएनएसँग पनि जोडिएका विकललाई अहिले लागेको छ,संस्थामा जोडिसकेपछि देखिने गरि वा नदेखिनेगरि समाजसेवालगायत धेरै कुरा गर्न सकिने रहेछ । ‘व्यक्तिगत काम र संस्थाको काममा धेरै फरक हुने रहेछ,’ विकल भन्छन,‘ संस्थामा लागिसकेपछि समय,पैसा, मेहनत सबै खर्च गर्नुपर्नेहुन्छ । यसबापत के पाउँछु त भन्दा, आत्मसन्तुष्टि । यी कामहरु गर्दै गर्दा आनन्दको निन्द्रा लाग्छ ।’
आत्मसन्तुष्टिकै कारण एनआरएनएमा जोडिएका विकलले एनआरएनए,ओमनको नेतृत्व लिने अवसर पाएका छन । शुक्रवार उनी निर्विरोध अध्यक्ष चुनिएका छन् । खाडी क्षेत्रमा थुप्रै अवसरहरु देखेको बताउने विकल भन्छन,‘हामी खाडीका एनआरएन खाली वैदेशिक रोजगारको मुद्धामा मात्रै अड्केका छौं । तर, अब त्यो भन्द पनि माथि उठेर सोच्नुपर्छ । नेपालमा उत्पादित वस्तुको निर्यात गर्ने वातावरण सिर्जना गरौं । मेरो पहिलो महत्वपूर्ण योजना भनेको यहि हो ।’
ओमनमा १८ हजार नेपाली बसोबार गर्दै आइरहेको छ। नेपालीलाई मात्रै नभई सिंगो ओमनको बजारलाई केन्द्रित गर्दै नेपाली वस्तुलाई भित्र्याउने वातावरण सिर्जना गर्ने विकलको योजना हो।
उनको अर्को योजना भनेको आफूले जानेको ज्ञान,आफूले आर्जनको गरेको सी एक–आपसमा बाँडने हो । ओमनमा धेरै मानिस छ्न,जो नेपालमा लगानी गर्न चाहन्छन । उनीहरुलाई सेमिनारमार्फत लगानीका लागि प्रोत्साहित गर्न सकिन्छ।
पाइलट सपना साकार पारेका विकलका लागि नेपालमा केही न केही गर्ने योजना पहिलेदेखिकै हो । एनआरएनए,ओमनको नेतृत्वको जिम्मेवारी अहिले विकलको काँधमा छ ।