भागरथी हत्या प्रकरण : आरोपीको डीएनए मिल्यो

भागरथी हत्या प्रकरण : आरोपीको डीएनए मिल्यो

काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनएसँग मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ । भागरथीको शरीरबाट निकालिएको स्वाबसँग दिनेशको डीएनए रिपोर्ट मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश सिंहले पुष्टि गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किँदै गर्दा हराएकी थिइन् । सनातन माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने उनी साँझसम्म नआएपछि परिवारले खोजी थालेको थियो । भोलिपल्ट विद्यालयबाट घर आउने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा उनको शव भेटिएको थियो ।