अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा संक्रमितको संख्या ३ करोड १ हजार २४५ जना पुगेको हो ।

अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा तीब्र बृद्धि भएको छ ।

गत सोमबारसम्म अमेरिकामा कोभिड–१९ का कारण पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ ।

अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित क्यालिफोर्निया राज्य रहेको छ ।

उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका छन् । टेक्सास राज्यमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यु मृत्युबाट प्रभावित देशको सूचीमा परेको छ ।