यूएईले गर्यो थप दुई नयाँ भिसाको घोषणा

यूएईले गर्यो थप दुई नयाँ भिसाको घोषणा सांकेतीक तस्वीर

आबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई) ले पर्यटकहरुका लागि दुईवटा नयाँ भिसाको घोषणा गरेको छ । जसअन्तर्गत रिमोट वर्क भिसा र मल्टिपल इन्ट्रि टुरिष्ट भिसा रहेका छन् ।

आइतवार यूएईका शासक उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रशीद अल मकतूमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मदका अनुसार आफ्नो देशका नागरिकलाई गुणस्तरीय जीवन प्रदान गर्न लचिलो कार्यक्रमको विकास तथा पहल कदम अघि बढाइरहेको हो । उनले भने, ‘हामी विश्वव्यापी रुपमा हाम्रो आर्थिक स्थितिलाई उकास्नका लागि स्पष्ट उदेश्यकासाथ काम गर्दैछौं । ’

रिमोट वर्क भिसा

यस भिसामा प्रवेश गर्नेले एक वर्षसम्म यूएई बस्न पाउनेछन् । विभिन्न पेशा अंगालेकालाई यो भिसा प्रदान गरिनेछ । उक्त व्यक्ति कार्यरत कम्पनि अन्य देशमा भएतापनि एक वर्षसम्म यूएईमै बसेर काम गर्न पाउनेछन् । तर, भिसामा तोकिए अनुसारको नियम र शर्त भने पूरा गर्नुपर्नेछ ।

यो भिसा योजनाले विभिन्न क्षेत्रका पेशेवर र उद्यमीलाई यूएई बस्ने अवसर दिनेछ । अति आवश्यक सेवा सुविधासहितको भिसा प्रदान गर्ने भएकोले पेशा व्यवसायमा राम्रो अनुभव लिन पाउनेछन्।

यो भिसाको उदेश्य भनेको कार्य जीवनलाई सन्तुलन गर्ने, उत्पादनमा बढावा दिने र व्यापार व्यवसायलाई विस्तार गर्दै लैजानु रहेको बताइएके छ । साथै डिजिटल सीपको विस्तारसँगै अर्थव्यवस्थालाई अनूकुल बनाउनु हो ।
यो भिसामा यूएई आउनेले खाने, बस्नेलगायत सम्पूर्ण व्यवस्था आफैले गर्नुपर्ने हुन्छ।

मल्टिपल इन्ट्रि टुरिष्ट भिसा

यो भिसाको म्याद भने ५ वर्षको रहनेछ । यसका लागि कुनै साक्षीको आवश्यकता पर्दैन । प्रत्येक पटकको प्रवेशमा भिसाको म्याद ९० दिनको रहनेछ भने थप ९० दिन पनि थपेर सोही भिसामा बस्न पाउनेछन् ।

भिसा प्राप्त व्यक्तिले आवश्यकता अनुरुप जुनसुकै बेला पनि देश भित्र आउन र बाहिर जान पाउनेछन् ।

यस भिसाको माध्यमबाट विश्वका जुनसुकै देशका नागरिकले यूएई बस्न पाउनेछन् ।

एजेन्सी