कुवेतमा तलब नपाएपछि नेपाली महिला आन्दोलनमा उत्रिए (भिडियोसहित)

कुवेतमा तलब नपाएपछि नेपाली महिला आन्दोलनमा उत्रिए (भिडियोसहित)

कुवेत । तलब नपाएपछि कुवेतमा नेपाली महिला कामदार आन्दोलनमा उत्रिएका छन् । कुवेतको साफा नेशनल कम्पनीमा कार्यरत ६० जना नेपाली महिला कामदारले कम्पनीविरुद्ध आन्दोलन गरेका हुन् ।

आफूहरुले विगत ३ महिनादेखि तलब नपाएको उनीहरुले बताएका छन् । ‘३ महिनादेखि तलब नदिएको कारण हामीले आन्दोलन गर्नु परेको हो,’ एक महिला कामदारले भनिन् ।

उनीहरुलाई २० महिनाअघि काठमाडौंस्थित आरोप म्यानपावरले कुवेत पठाएको थियो । म्यानपावरलाई जनही १ लाख बुझाएको उनीहरुको भनाइ छ । काम गरेर महिना मरेपछि पनि तलब नपाउँदा आफूहरु समस्यामा परेको एक पीडित महिलाले बताइन् ।

‘अहिलेसम्म कुवेत आउँदा लागेको ऋण पनि तिर्न सकेका छैनौँ। कम्पनिले बराबर तलब नदिएको कारण हामिले सुरुदेखि नै यसरी आन्दोलन गर्दै आएका छौँ,’ ती महिलाले भनिन्, ‘हरेक तीन/चार महिनामा यसरी आन्दोलन गरेपछिमात्र एक महिनाको वा कहिलेकाहीँ दुई महिनाको तलब दिने गर्छ ।’

कम्पनीले समयमै तलब भुक्तान नगर्दा घरमा ऋण बढिरहेको उनीहरुको गुनासो छ । उनीहरुको मासिक तलब ७५ कुवेती दिनार हो । तर, आफूहरुले समयमा कहिल्यै पनि तलब नपाएको उनीहरुले बताएका छन् । ‘तलब थोरै छ । त्यही पनि समयमा नआउँदा हामिलाई धेरै समस्या भएको छ,’ ती महिलाले भनिन् ।

तलब नपाएपछि उनीहरु आइतबार कुवेतको श्रम अदालत ‘लेबर कोर्ट’ समेत पुगेका छन् । लेबर कोर्ट पुगेपछि बल्लतल्ल कम्पनीले आफूहरुलाई एक महिनाको तलब दिएको उनले बताइन् । उनले थपिन्, ‘ तर, पूरा तलब नपाएसम्म हामीले यसरी नै स्ट्राइक (हड्ताल) गर्ने हो।’

भिडियो