यूएईमा १६ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क कोरोनाको खोप

यूएईमा १६ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क कोरोनाको खोप

आबुधावी । यूएईमा सबै नागरिकले कोभिड – १९ को खोप निःशुल्क पाउने भएका छन् । यूएईस्थित स्वास्थ्य तथा रोकथाम मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै २१ मार्च देखि खोप बुकिङ खुल्ला गरिएको जनाएको छ । जसमध्ये संक्रमणको जोखिममा रहेका उमेर समुहलाई ६ हप्तासम्म प्राथमिकतामा राखिनेछ।

मन्त्रालयका अनुसार, १६ वर्षभन्दा माथिका उमेर समुह खोपका लागि योग्य हुनेछन् । यो समुहका नागरिकले यूएई सरकारले स्थापना गरेको २५० कोभिड खोप केन्द्रमध्ये आफूलाई पायक पर्ने ठाउँबाट निशुल्क खोप सेवा लिन सक्नेछन् ।

खोप बुकिङ

खोपका लागि अग्रिम बुकिङ पनि गर्न सकिनेछ । तर, संक्रमणको जोखिममा रहेका नागरिकले भने सोझै खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।

वितेको ६ हप्तामा सबै स्वास्थ्य विभागहरुले संक्रमणको जोखिममा रहेका उमेर समुह तथा दिर्घ रोगीलाई प्राथमिकतामा राखी खोप सेवा दिन सहयोग गरेको छ । जसअन्तर्गत वृद्धवृद्धा, हृदय रोग, मधुमेह, श्वासप्रश्वासलगायत जटिल रोग भएकालाई पहिलो प्राथमिकतामा राखिएको छ।

यसैबीच, स्वास्थ्य तथा रोकथाम मन्त्री डा.अब्दुल रहमान बिन मोहम्मद बिन नासर अलिले ७२. ८९ प्रतिशत दीर्घरोगी, वृद्धवद्धा नागरिकले कोभिड – १९ को खोप लिइसकेको बताए । उनका अनुसार ५६‍‍‍.५ प्रतिशत साधारण नागरिकले समेत खोप लगाइसकेका छन् ।

मन्त्रालयको योजना तथा कोभिड –१९ को जोखिमलाई निर्मूल पार्ने राज्यको उदेश्य अनुरुप खोप वितरण कार्यलाई तीव्र पारिएको छ । मन्त्रालयले खोपका लागि योग्य सबैलाई खोप लगाउन र परिवारका सदस्य, साथिभाई, सहकर्मीलाई खोपलगाउन प्रोत्साहन गर्न समेत सबै आग्रह गरेको छ।

यूएईमा कोभिड –१९ को आपतकालिन उपयोगका लागि चार प्रकारका खोपले स्वीकृति पाएको छ । जसमध्ये, सिनोफर्म, फाइजर बायोएनटिज, स्पुतानिक भि र अक्सफोर्ड अस्ट्राजेनिका कम्पनिको भ्याक्सिन रहेको छ ।

यूएईले हालसम्म ७१ लाख ८१ हजार ५६ डोज भ्याक्सिन प्रयोग गरिसकेको छ । एक सय व्यक्ति बराबर ७२.६१ प्रतिशत डोज प्रदान गर्दै आइरहेको छ।