जापानमा आपतकाल आजबाट हट्दै

जापानमा आपतकाल आजबाट हट्दै

टोकियो । टोकियो क्षेत्रमा जारी आपतकाल आजबाट हट्ने भएको छ । कोभिड१९ को संक्रमण बढ्दै गएपछि जापान सरकारले गत ७ जनवरीबाट आपतकाल जारी गरेको थियो । कोरोना संक्रमणमा कमी आएसँगै आज ७४ दिन पश्चात आपतकाल हट्न लागेको हो । आपतकाल २१ मार्च मध्यरातबाट समाप्त हुनेछ । सरकारले यसअघि बिहिबार यस क्षेत्रको आपतकाल हटाउने घोषणा गरेको थियो।

कोभिड–१९ को संक्रमण धेरै रहेको राजधानी टोकियोसहित, साईतामा, चिबा र खानानागावा प्रान्तमा आपतकाल बाँकी रहेको थियो । सरकारले ७ जनवरीबाट यी क्षेत्रमा आपतकाल घोषणा गरेपछि ११ प्रिफेक्चरमा विस्तार गरेको थियो। अन्य स्थानमा संक्रमणको संख्या घटेपछि दुई चरणमा हटाइएको थियो।

टोकियो क्षेत्रमा संक्रमितको संख्या उच्च रहेकोले आपतकाल लामो समय राखिएको थियो । यी चार क्षेत्रबाट दैनिक ५ सयभन्दा बढी संख्यामा संक्रमित थपिने गरेकोतथ्यांकले देखाउँछ । संक्रमितको संख्या उच्च रहेपनि स्वास्थ्य संस्थामा विरामीको भिड नभएकोले सरकारले आपलकाल हटाउने निर्णय गरेको बताएको छ । आपतकाल हटाएपनि संक्रमण बल्झने जोखिम धेरै रहेकोले सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आपतकालको समय वेलुका ८ बजेसम्म मात्रै रेष्टुरेण्ट खोल्न पाउने नियम रहेकोमा अब वेलुकी ९ बजेसम्म खोल्न पाउने भएको छ । खेलकुद स्थल तथा ठूला मनोरञ्जनात्मक स्थानमा अधिकतम ५ हजार दर्शक क्षमता राख्न पाउने नियमलाई भने यथावत राखिएको छ ।

जापान प्रवेश गर्ने नव प्रवेशीमाथिको प्रतिबन्धलाई कायमै राख्दै सरकारले सिमा नियन्त्रणमा थप कडा नियमहरु लागू गराएको छ ।