कोरोना संक्रमणका कारण साउदी अरबमा एक नेपालीको मृत्यु

कोरोना संक्रमणका कारण साउदी अरबमा एक नेपालीको मृत्यु सांकेतीक तस्वीर

काठमाडौं। कोरोना भाइरस कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा‍‍‍‍‍‍‍‍. ‍सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको मृत्यु भएको हो ।

एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३४२ जना नेपालीको निधन भएको छ । डा। सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ । उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८३९ जना रहेको छ भने २ लाख ७१ हजार ८ सय १५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको डा. सापकोटाको भनाइ छ ।