राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएले आर्थिक सहयोग गर्ने

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएले आर्थिक सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गर्ने भएको छ । ‘मेक इन नेपाल’ नामक भर्चुअल अन्तरक्रिया कार्यक्रममार्फत एनआरएनएले केन्द्रलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

संघले भर्चुअलमार्फत ‘मेक इन नेपाल’ नामक अन्तरक्रिया कार्यक्रमको आयोजाना गरेको थियो । उक्त कार्यक्रममा केन्द्रका अध्यक्ष डा. महाबिर पुनले राष्ट्रिय आविष्कार केन्द्रको भर्चुअल टुर गराएका थिए । केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा नयाँ अनुसन्धान गर्दै आइरहेको छ । उक्त अनुसन्धानमा सहयोग पुर्याउने उदेश्यका साथ एनआरएनएले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारममणी पोखरेलले बताए ।

नेपालमा आविष्कार क्षेत्रमा लगानी गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्र भरपर्दो भएकोले एनआरएनएले केन्द्रसँग समन्वयन गरी अघि बढ्नुपर्नेमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेको जोड छ । ‘अहिलेको समय भनेको नविनताको खोज्ने समय हो । विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सबै क्षेत्रमा अनुसन्धान हुन आवश्यक छ,’ लामिछानेले भने, ‘राष्ट्रिय आविष्कार केन्दले नयाँ जोश, जाँगर र कला भएका युवालाई आफ्नो कला कौशल प्रस्तुत गर्ने अवसर दिएको छ ।’ संघले नेपालमा गर्दै आइरकेको कार्यमा भरपर्दो साथको आवश्यकता रहेकोले अनुसन्धानात्मक क्षेत्रमा राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयन भरपर्दो रहने उनको भनाइ छ ।

वर्तमान अध्यक्ष कुमार पन्तले आविष्कार केन्द्रका लागि व्यक्तिगत र संस्थागत सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै कार्यक्रममा सहभागीहरुले पनि कार्यक्रमकैबीच व्यक्तिगत रुपमा आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले केन्द्रले अनुसन्धान गर्दै आइरहेको विभिन्न विषय शिक्षा, स्वास्थ्य, पर्यटन,बायोमेडिकल लगाएतका क्षेत्रमा कार्यरत रहेकालाई वौद्धिक ज्ञानको लगानी गर्न अनुरोध गरेका छन् । साथै कुनैपनि क्षेत्रमा लगानी गर्ने एनआरएनएको सोच भएमा आविष्कार केन्द्रले सहयोग गर्ने उनले बताए।

कार्यक्रममा केन्द्रका अध्यक्ष डा.पुन, एनआरएनएका संस्थापक अध्यक्ष डा‍‍.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, कुल आचार्य लगायत सहभागी रहेका थिए ।