४० वर्ष भारतको जेलमा बसेर नेपाल आएका तिम्सिना भन्छन्– आमालाई भेट्न आतुर छु

४० वर्ष भारतको जेलमा बसेर नेपाल आएका तिम्सिना भन्छन्– आमालाई भेट्न आतुर छु

झापा । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आएका। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

उनी काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आएका हुन् । कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफू निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए । उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए ।

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हुन् । लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उनी कम बोल्छन् एकोहोरिनछन् ।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ÷छ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए । उनको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिए।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए । हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ .पुगेका थिए । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन । ‘कतैबाट खबर नआएपछि दाजु आन्दोलनमै मारिनुभयो होला भन्ने घरपरिवारमा लागेको थियो’, भाइ प्रकाशचन्द्रले भने, ‘चालीस वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहनुभएको खबर आयो ।’

हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर, यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए। दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्याएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताए ।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर ,उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्यााइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए। घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा हुनुहुन्छ । उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो । दुर्घटनामा परी आमा धनमायाको एउटा हाट काटेर फाल्नुपरेको थियो ।

रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुगेका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सके । उनले सेतो कमिज र खरानी कलरको ट्राउजर लगाएका थिए । उनका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर आजै घर पुर्याइने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *