जापानमा ६ नेपाली पक्राउ
कुमामोतो । जापान प्रहरीले भिसा अवधि सकेर पनि जापान बसेर काम गर्दै आएको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरेको छ । ओभरस्टे बसेर काम गरेको अभियोगमा कुमामोतोमा ६ जना नेपाली र काम गराउने कम्पनिका २ जना जापानीलाई पनि पक्राउ गरिएको हो।
कुमामोतो शहरमा एक निर्माण कम्पनीका एक व्यक्ति र छ जना नेपालीलाई मार्च १७ तारिखमा पक्राउ गरिएको हो । उनीहरुलाई अध्यागमन नियन्त्रण र शरणार्थी कानूनको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । नेपाली नागरिकले किकुची शहरको निर्माण सामाग्री भण्डारण साइटमा अवैध रूपमा काम गरिरहेको आरोप लगाईएको छ ।
पक्राउ परेका जापानी नागरिक ६१ बर्षिय र्युईची हिरेई कुमामोतो शहरको चुओ कुमा रहेको निर्माण कम्पनीका प्रबन्धक हुन् । पक्राउ परेका नेपालीहरु ३० देखी ४० बर्ष उमेर समुहका रहेको बताइएको छ । यद्यपी पक्राउ परेका नेपालीहरुको परिचय खुलाईएको छैन ।
प्रहरीका अनुसार हिरेईले जनवरीदेखि गत महिनासम्म किकुची शहरको निर्माण सामग्री भण्डारण क्षेत्रमा सिभिल इन्जिनियरिगंमा संलग्न भएपछि ६ जना नेपालीलाई अवैध रूपमा काममा लगाएका थिए ।
प्रहरीका अनुसार गत वर्ष अक्टोबरमा एक व्यक्तिले अवैध रुपमा बिदेशी कामदारहरुले काम गरिरहेको सूचना दिएका थिए ।
यसबाहेक सोही निर्माण कम्पनीका कर्पोरेट अफिसर ७१ बर्षिय जुनिची योनिइलाई पनि पक्राउ गरिएको छ । जसमध्ये पक्राउ परेका एक नेपाली जुनिचीले व्यवस्थापन गरेको घरमा बसिरहेको पाईएको छ । उनलाई अवैध रूपमा बस्न मद्दत गरेको आरोप समेत लगाईएको छ ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका नेपालीले उनिहरुमाथि लागेको आरोप स्विकार गरेको समाचारमा उल्लेख छ । प्रहरीले अवैधानिक रोजगार मिलाउने अवस्थाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।