ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

रियो डि जेनेरियो । ब्राजिलमा एकै दिनमा ९० हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । ब्राजिलमा पहिलो पटक यति धेरै नागरिक संक्रमित भएको हो। ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएको बताइएको छ । सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोना संक्रमितको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । कतिपय अवस्थामा अस्पतालमा शैया र औषधिको समेत अभाव भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् ।

विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ब्राजिल।