फिलिपिन्समा कोभिड संक्रमण बढ्न थालेपछि विदेशी नागरिकको यात्रा अनुमति रद्द

फिलिपिन्समा कोभिड संक्रमण बढ्न थालेपछि विदेशी नागरिकको यात्रा अनुमति रद्द

फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ ।

फिलिपिन्स सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।

सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ । यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।

फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यात्रामा प्रतिबन्ध लगाइएको हो ।मंगलबार मात्र पनि यहाँ ५ हजार ४०० जना संक्रमित भेटिएका छन् । कोभिडको नयाँ प्रजातिको संक्रमणमा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।



No ads found for this position