वैदेशिक रोजगारीमा जाने र स्वदेशमै उद्यम गर्न चाहने युवालाई निःशुल्क सीप तालिम

वैदेशिक रोजगारीमा जाने र स्वदेशमै उद्यम गर्न चाहने युवालाई निःशुल्क सीप तालिम सांकेतीक तस्वीर

काठमाडौं । वैदेशिक रोजगरीमा जान इच्छुक भएका वा स्वदेशमै उद्यम गर्न इच्छुक युवालाई लक्षित गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयले निशुल्क तालिमको आयोजना गरेको छ । बोर्डले देशभर नै यो तालिमको आयोजना गर्न लागेको बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीले जानकारी दिए।

बोर्डले सञ्चालन गर्न लागेको निःशुल्क तालिम भने सिटिभिटि अन्तर्गतका आंङ्गिक क्याम्पसबाट सञ्चलन हुनेछ । सुवेदीका अनुसार, देशभर रहेका सिटिभिटिका १५ वटा आंङ्गिक क्याम्पससँग बोर्डले सम्झौता गरेको छ । सम्झौता अनुरुप ती क्याम्पसले तालिमको प्रकृति हेरी १६० घण्टा अर्थात एक महिनासम्म तालिम सञ्चालन गर्नेछन् । तालिममा लाग्ने लागत भने बोर्डले उपलब्ध गराउने सुवेदीले बताए ।

उनले प्रवास खबरसँग भने, ‘देशभरबाट १० हजारलाई तालिम दिने हाम्रो लक्ष्य हो । तर, यो वर्षको लागि भने ७ हजार ३६० जनाको आवेदन परेको छ ।’

बोर्डले वार्षिक रुपमा देशभरबाट १० हजारलाई तालिम दिने लक्ष्यका साथ १ करोड ३४ लाख रुपैयाँ बजेट छुट्याएको छ । साथै तालिम लिइसकेकाको सीप परिक्षण गर्न ३५ लाख रुपैयाँ बजेट रहेको छ । तालिम पूरा गरिसकेपछि प्रशिक्षार्थीले सम्बन्धित संस्थामा २ हजार १९० रुपैयाँ तिरेर सीप परिक्षण गराउनुपर्ने हुन्छ। उक्त रकम भने प्रशिक्षार्थीलाई पछि बोर्डले फिर्ता गर्नेछ

तालिम प्रदान गरेपश्चात प्रशिक्षार्थीले कति सिके भन्नेबारे जानकारी लिन सीप परिक्षण अनिवार्य गरिएको सुवेदीले बताए । उनका अनुसार यस वर्ष बोर्डको लक्ष्यभन्दा कम संख्यामा आवेदन परेकोले तोके अनुरुपको बजेट सबै खर्च हुने छैन।

तालिमको बारेमा कसरी थाहा पाउने ?

देशभर रहेका सिटिभिटिका आंङ्गिक क्याम्पसबाट यो तालिम सञ्चालन हुनेछ । संघ, प्रदेश, स्थानिय तहमा बोर्डको आफ्नै कार्यलय नभएकोले क्याम्पससँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागिएको बोर्डका सूचना अधिकारी सुवेदीको भनाइ छ। उक्त क्याम्पसहरुले विभिन्न सञ्चारमाध्यममार्फत तालिम सञ्चालनको बारेमा विज्ञापन जारी गर्ने उनले बताए।

कुन-कुन विषयमा तालिम प्रदान गरिन्छ ?

बोर्डले सञ्चालन गर्न लागेको तालिम अन्तर्गत प्लम्बर सहायक, डकर्मी (मेसन), इलेक्ट्रिसियन, एसिस्टेन्ड वेल्डर, सुरक्षा गार्ड, हाउस पेन्टर, फ्रन्ट अफिस सहायक, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर, किचन सहयोगी, व्यूटिसियन, सहायक टायल मार्बल, एसिस्टेन्ट स्काफेल्डर लगायत १८ वटा विषयमा तालिम सञ्चालन हुनेछ ।

कस्ता व्यक्तिले तालिममा सहभागी हुन पाउँछन् ?

यो तालिम सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनेले, विदेशबाट फर्केका र सीप सिकेर स्वदेशमै केहि गर्न चाहनेको लागि उपयुक्त रहेको सुवेदीले बताए । तालिममा सहभागी हुनका लागि भने कक्षा ८ पास गरेको हुनुपर्नेछ । वैदेशिक रोजगारीका लागि मात्रै नभई यो तालिमले स्वदेशमै केहि गरौं भन्ने युवाका लागि सहयोगी बन्ने उनले बताए।

थप जानकारी को लागि श्रम कल सेन्टर को ११४१ मा वा www.feb.gov.np मा गइ जानकारी जानकारी लिन सकिनेछ।