लण्डन विमानस्थलमा दुई नेपालीलाई जरिवाना

लण्डन विमानस्थलमा दुई नेपालीलाई जरिवाना

लण्डन । बेलायत सरकारले जारी गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी कानूनको उल्लंघन गरेको अभियागमा दुई जना नेपालीहरु लण्डनस्थित हित्रो विमानस्थलमा कारवाहीमा परेका छन् । कारवाहीस्वरुप उनीहरुलाई प्रतिव्यक्ति १ हजार पाउण्डका दरले जरिवाना तोकिएको छ।

बेलायतस्थित ट्राभल्स कन्स्लोका प्रमुख विराज भट्टका अनुसार आइतवार नेपालबाट लण्डन उत्रेका ती नेपालीहरुले बेलायत सरकारले तोके बमोजिमको फारम नभरेको भेटिएपछि उक्त जरिवाना गरिएको हो।

भट्टले नेपाल जाने र आउने यात्रुहरुले दुवै देशले जारी गरेका कोरोना सम्बन्धी नियमलाई कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

भट्टले बेलायत सरकारले कतारलाई पनि ‘रेड लिष्ट’ मा राखेपछि नेपालबाट यूके फर्किनुपर्ने नेपालीहरु प्रभावित हुने बताएका छन्।

आउँदो १९ मार्च शुक्रबार बिहान ४ बजेपछि कतार हुँदै बेलायत आउने यात्रुहरुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

भट्टले कतार रेड लिष्टमा परे पछि यात्रुहरुले वैकल्पिक रुपमा टर्कीको रुट प्रयोग गर्दा सहज हुने जानकारी दिए ।

यसैबीच नेपाली दूतावासमा लण्डनले सोमवार एक सूचना जारी गर्दै बेलायत यात्रा गर्ने यात्रुहरुले बेलायत सरकारले जारी गरेको होटल क्वारेन्टाइन सम्बन्धी नियमहरुको पालना गर्न आग्रह गरेको छ ।