के जापानमा लगाइएको आपताकाल लम्बिन्छ ?

के जापानमा लगाइएको आपताकाल लम्बिन्छ ?

टोकियो । जापान सरकारले  विहीबार कोरोना भाइरस संक्रमणका कारण लगाइएको आपतकालिन अवस्था अन्त्य गर्ने नगर्ने निर्णय गर्ने भएको छ।

अझैसम्म आपतकाल अन्त्य गर्ने योजनाको निर्णयमा नपुगेको सरकारले टोकियो महानगर क्षेत्रमा आपतकाल थप विस्तार गर्नसक्ने अनुमान गर्न थालिएको छ । यसको मुख्य आधारको रुपमा चार प्रिफेक्चरहरुले आपतकाल हटाउन अनुरोध नगर्नु तथा संक्रमणको दर पछिल्लो हप्ता उकालो लाग्नुलाई बनाइएको छ ।

यसबाहेक संक्रामक कोरोना भाइरसका विरामीको संख्यामा वृद्धि तथा आसन्न टोकियो ओलम्पिक तयारी र संक्रमण फैलन नदिन पनि आपतकाल विस्तार उपायको रुपमा सरकारले लिएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री योशीहिदे सुगाको प्रशासनका केही सदस्य प्रतिबन्ध हटाउने पक्षमा रहेका छन् । संक्रमणको पुनरुत्थान र कोरोना भाइरसको थप संक्रामक रूपको फैलावटको बारेमा चिन्ता भइरहेको अधिकारीहरुले बताएका छन्।

सुगाले संसदीय सत्रमा टोकियो, खानागावा, चिबा र साइतामा प्रान्तको लागि आपतकालिन अवस्था हटाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा बताउन असम्भव भएको बताउँदै उनले अन्तिम निर्णय लिनुअघि ताजा तथ्यांक हेर्ने र स्वास्थ्य विशेषज्ञसँग परामर्श लिने कुरामा जोड दिएका छन् ।

आपतकालिन अवस्था अन्तर्गत, मानिसहरूलाई अनावश्यक रूपमा घर बाहिरको यात्रामा ननिस्कन आग्रह गरिएको छ, जबकि रेस्टुरेन्ट र बारहरू रात ८ बजे बन्द गर्न भनिएको छ । यस बाहेक व्यवसायहरूलाई टेलिवर्किंग अपनाउन प्रोत्साहन, कन्सर्ट, खेलकुद जस्ता ठूला कार्यक्रममा अधिकतम ५ हजार दर्शक क्षमता तोकिएको छ।

७ जनवरीमा आपतकाल लागू भएदेखि संक्रमणहरू घट्दै गइरहेका थिए, तर गिरावटको गति पछिल्लो हप्ताहरुमा घट्नुका साथै हप्तादिन यता भने संक्रमणदर केही बढेको तथ्यांकले देखाएको छ।