विदेशी भूमिबाटै नेपाललाई गुन लगाउँदैछन् फणिन्द्र

विदेशी भूमिबाटै नेपाललाई गुन लगाउँदैछन् फणिन्द्र

उनलाई किन किन आफू प्रकृति प्रेमी जस्तो लाग्छ । यसैले भन्छन,‘म प्रकृतिप्रेमी साधक ।’ त्यसो हो भने गोरखाकाे ताङलिङचोक जस्तो प्रकृतिको मनोरम बस्तीबाट उनी किन सात समुन्द्रपारि मानव निर्मित जमिनमा अड्एिको शहर पुगे त ? यसपटक उनलाई सोध्नै पर्ने छ । हजुर, यो प्रश्न फणिन्द्र पन्तलाई।

उनी जवाफको तयारीमा छन् सायद। केही क्षण कुर्ने कि !

त्यतिन्जेल चकको कथा जोडौं,जुन फणिन्द्रको जीवनमा घट्यो । मुकाम थियो,काठमाडौं,जुन बेला उनी त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा विज्ञान पढ्ने सुरसारमा थिए । बिहान कलेज जाने दिउँसो उद्यमी तालिम लिने । तालिम सके । १८ वर्षको उमेरमा आफ्नै उद्यम सुरु गरे । मनकामना चक उद्योग । स्कूल,कलेजका कालोपाटीमा लेख्ने सेतो चक । विद्यार्थीबाट व्यवसायी बनेका फणिन्द्रले काठमाडौंका कुनाकाप्चासम्म चक बेचे । उद्योगलाई पहिलो दर्जामा पुर्याए । तर, जीवनमात्र होइन,उद्यम पनि कहिलेकाँही सोचे जस्तो हुन्न । भयो,त्यही । उत्पादन बढाउदै लगे पनि विस्तारै माग कम हुँदै गयो । कालोपाटीको स्थान सेतोपाटीले लिन थाल्यो । चकलाई कालो मार्करले विस्थापित गर्यो । अनि फणिन्द्रलाई परेन त फँसाद ! उद्योग बन्द भयो।

१८ वर्षपछि फर्केर हेर्दा त्यही घटनापछि फणिन्द्रको जीवनले कोल्टे फेरेको रहेछ । भइदियो के भने चक उद्योगमा असफल भएपछि रनाहामा परेका फणिन्द्रलाई के गर्ने ,कसो गर्ने भयो । देशमा कुनै काममा असफल भएपछि नेपाली युवाले के गर्छ ? जवाफ हो,विदेश जाने सुर कस्छ । स्वभाविक थियो,स्नातकोत्तर गरिरहेका फणिन्द्रले पनि त्यही गरे । भन्छन नि,‘अजिङ्गरको आहारा दैवले पुर्याउँछ ।’ हो यस्तै भयो,फणिन्द्रको जीवनमा पनि । सिंगापुरबाट काठमाडौं फर्किएका फणिन्द्रका एकजना दाईले उनलाई ‘युरोप गए महिनाको एक लाख कमाउन सकिन्छ’ भन्ने मन्त्र पढाए । फणिन्द्रले त्यसपछि न हेरे दायाँ न हेरे बायाँ । उनको लक्ष्य अब एउटै थियो,जसरी हुन्छ युरोप छिर्ने,पैसा कमाउने । आफूले देखेका सपना सजाउने । सामाजिक मान प्रतिष्ठा आर्जित गर्ने ।

त्यो सन् २००३ को कुरा थियो,जुन विन्दुबाट फणिन्द्रको जीवन मोडियो । उनै दाईको फेरो समाएर उनी पुगे नेदरल्याण्ड । तर, सजिलो कहाँ थियो र नेदरल्याण्ड पुग्न पनि । काठमाडौंबाट थाइल्याण्ड पुगेका उनी त्यहाँबाट सिंगापुर पुगे । क्युवा सम्मेलनमा भाग लिन जाने भन्दै आमस्टर्डम पुगेका उनीहरुमाथि प्रहरीले शंका गरे । उनीहरुलाई आमस्टर्डमै रोकियाे । तर, उनीहरुको यात्रा भने बेलायतसम्म पुग्ने थियो । प्रहरीले खोजतलास गर्न थालेपछि आफूहरु क्युवामा आयोजित एक सम्मेलनमा भाग लिन जान हिँडेको झुटो हो भन्दै पासपोर्टसहित अन्य कागजपत्र प्रहरीलाई बुझाइदिए । नेपालमा बस्न गाह्रो भएकोले आफूहरु यसरी आएको बताएपछि प्रहरीले त्यहाँ बस्नका लागि आवश्यक प्रक्रियाको बारेमा जानकारी दिएर उल्टो सहयोग गर्यो । तीन महिनासम्म उनीहरु शरणार्थी क्याम्पमा बसे । तर, काम गर्ने अनुमति भने थिएन । लुकीछीपि काम गर्दै गुजारा चलाए । डेढ वर्षपछि बल्ल नेदरल्याण्ड बस्न पाइने भयो । बेलायत हिँडेका फणिन्द्र नरोजेको न सोचेको देश नेदरल्याण्ड पुगेछन ।

गोरखाकाे विकट गाउँबाट युरोपको रङ्गीन शहरसम्म पुगेका फणिन्द्रको यात्राको कथा हो यो।

अब उनको दोस्रो अध्याय शुरु हुन्छ,नेदरल्याण्डबाट । बस्ने अनुमति पाएपछि काम गर्ने र अध्ययनलाई पनि निरन्तरता दिन थाले । २००८ मा आमस्टर्डमस्थित केन्द्रिय ब्लड बैंकमा जागिर सुरु गरे । ‘समाजसेवा गर्ने मेरो रहर आमस्टर्डमको ब्लड बैंकले पूरा गरिदिएको छ’,फणिन्द्रले सम्झिए,‘सानैदेखि बायोलोजी पढ्ने, मानव सेवा गर्ने चाहनालाई ब्लड बैंकमा काम गरेर पूरा गर्दैछु ।’ २०१० मा उनले ब्लड बैंक अन्तर्गत रहेर पोष्ट ग्राजुएट सकाए । २०१७ मा हेल्थ केयर इनोभेसन विश्वविद्यालयमा अध्ययन सुरु गरे । हाल उनी यही विश्वविद्यालयसँग आवद्व रहेर पीएचडी गर्दैछन । सोही अध्ययनमा सम्बन्धित भइ ‘लाइफ केयर फाउन्डेसन’ स्थापना गरे,आफ्नै नेतृत्वमा । जागिरेसँगै उनी २००९ मा व्यवसायीमा परिणत भए । ५ जना साथीसँग मिलेर नमस्ते सहकारी संस्था लिमिटेडको स्थापना गरेसँगै उनले रेष्टुरेण्ट सञ्चालन गर्न थालेका हुन् । व्यवसायी बन्नुपर्छ भन्ने सोचका साथ कुकलाई नै सेयर होल्डर राखेर ३ वटा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । उनले सञ्चालन गरेको रेस्टुरेण्टमार्फत नेदरल्याण्डमा नेपाली खानासँगै नेपाली संस्कृतिको झल्को देख्न सकिन्छ । स्थानीय ग्राहक नै धेरै छन्।

नेदरल्याण्डको आमस्टर्डममा व्यस्त छन्,मस्त छन्,फणिन्द्र । तर, पनि उनले समाज सेवातर्फ खर्च गर्न केही समय छुट्याउन भ्याएकै छन् । भन्छन नि ,‘व्यक्ति एक,काम अनेक ।’ हो,त्यस्तै छन्,फणिन्द्र । पढ्छन पनि,जागिर पनि भ्याएकै छन् । व्यवसाय अनि सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उस्तै छ।

लगनशिलता, समय व्यवस्थापन र सृजनशिलताको माध्यमबाट जीवन र जगतको आयामहरुलाई समानान्तर रुपमा विकास र प्रयोग गर्ने हो भने मान्छेले गुणस्तरीय जीवन प्राप्त गर्न सक्छ भन्ने उनको विश्वास छ ।

‘मानव जगतमा सानो तर महत्वपूर्ण तत्व हो, जीवन । हरेक जीवनले आफ्नो क्षमताले भ्यासम्म जगत भलो हुने कर्म गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘जीवन र जगत दुवैको सामान्जस्यभित्र गुणस्तरीय जीवन लुकेको हुन्छ । यसर्थमा पनि नयाँ कुरा सिक्न हरपल तयार रहने र ति कुरालाई उपयुक्त ठाउँमा प्रयोग गर्न अभ्यस्त बन्न सक्नुपर्छ।’

धन्न उनको जीवनमा सृजना आइन । आफन्तमार्फत २००७ मा नेदरल्याण्डमै पढ्दै गरेकी सृजनासँग उनको भेट भयो । भेट कतिबेला मायामा रुपान्तर भयो,दुवैलाई पत्तै भएन । अनि त दुवैले गृहस्थ आश्रम अँगाले । अहिले उनीहरुका १० वर्षका छोरा इशान र ३ वर्षे छोरी सुहाना देवी छन् । सृजना रिसर्चर हुन् यूनीक्वायर वायो फर्मामा । वर्षमा २ पटक नेपाल आउने पन्त परिवारलाई यो वर्ष भने कोभिड–१९ ले तगारो लगाएको छ।

पन्त परिवार

श्रीमती र परिवारको साथ पाएरै फणिन्द्रलाई सामाजिक कार्यमा सक्रिय हुन बल मिलेको छ । यसैले नेपाल आउन नपाउँदा पनि के भो र ? नेदरल्याण्डमै बसेर पनि उनले देशका लागि केही न केही गरेकै छन् ।सामाजिक सेवामा सक्रिय हुन फणिन्द्रका लागि एउटा गतिलो आधार बनेको छ,एनआरएनए । किनकी उनी एनआरएनएसँग पनि जोडिएका छन्।

२००७ देखि उनको एनआरएनए यात्रा प्रारम्भ भएको हो । उनले २०१३–०१५ मा नेदरल्याण्डको प्रतिनिधत्व गर्दै एनआरएनए आइसीसी सदस्यको पनि भूमिका निभाए । अहिले उनी एनआरएनए मानवसेवा विभाग अन्तर्गतको ‘ब्लड ट्रान्समिसन टेक्नोलोजी ट्रान्सफर समिति’ मा संयोजकको भूमिका निर्वाह गर्दै आइरहेका छन् । आमस्टर्डमको केन्द्रिय ब्लड बैंकमा कार्यरत उनले नेपालले नेदरल्याण्डबाट धेरै कुरा सिक्नुपर्ने बताउँछन् । नेदरल्याण्डले अपनाएको प्रविधिको अनुभव बाँडेर नेपाल रेडक्रस सोसाइटीसँग मिलेर चितवनमा मोबाइल ब्लड बैंक प्रोजेक्ट सुरु गर्ने अवधारणा उनकै थियो । यो प्रोजेक्ट देशैभरी पुर्याउने लक्ष्य एनआरएनएको छ । भन्छन,‘प्रविधि र वितरण प्रणालीमा एक रुपता ल्याउनसके रगत व्यवस्थापन गर्न सकिन्छ भन्ने चेतना दिन यो प्रोजेक्ट सुरु गरिएको हो।’

मान्छेको जीवनमा रगतको कति महत्व छ ? यो प्रश्नको जवाफ नेदरल्याण्डको केन्द्रिय ब्लड बैंकमा कार्यरता फणिन्द्रसँग छ । यसैले उनी नेपालमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने सूत्रको खोजी गरिरहन्छन् । आफूले सिकेको अन्तर्राष्ट्रिय स्तरको प्रविधिलाई नेपालको रक्त संचार प्रणालीसँग कसरी जोडन सकिन्छ ? उनको ध्याउन्न यतैतिर छ।

संघले चितवन रेडक्रसलाई प्रदान गरेको ‘मोवाइल ब्लड बस । जुन अवधारणा उनकै थियो ।

उनी एनआरएनएलाई एउटा नहरको रुपमा हेर्छन् । उनको नजरमा नेपालमा आर्थिक, व्यवसायीक,ज्ञान, सीप बाँड्नका लागि एनआरएन नै काफी छ । एनआरएनएप्रति नेपालीको विश्वास उच्च भएकोले एनआरएनएमार्फत काम गर्न सके प्रभावकारी हुने उनको सोच छ । एनआरएनएको स्थापनाकालदेखि नै जोडिएका उनले संस्थाको नेतृत्व नीति,मूल्य, मान्यता र आदर्श अनुरुप चल्नुपर्ने सुझाव दिन्छन्।

समाजसेवालाई कर्तव्यको रुपमा लिने उनी समाजमा आफ्नो क्षमताले भ्याएसम्मको ज्ञान सिप बाँड्नुपर्छ भन्ने सोच राख्छन् । प्रत्येक व्यक्तिले आफूसँग भएको हरेक कुराको १० प्रतिशत समाजमा बाँड्न सके प्रगतिशिल समाज निर्माण हुने उनको सोच छ ।

यी त भए,फणिन्द्रका कर्मका कुरा । एकपटक गोर्खा पुगौँ,जहाँ जन्मिए उनी,जहाँ हुर्किए उनी।

७ भाइ छोरा र दुई छोरी रहेको पन्त परिवारमा ८ औं सन्तानको रुपमा २०३३ मा जन्मिएका थिए,फणिन्द्र । २०३८ मा गाउँमै जनकल्याण प्राथमिक विद्यालय खुलेपछि पहिलो व्याचमा उनको अध्ययन सुरु भएको थियो । ६ कक्षादेखि भने १ घण्टाको बाटो हिँडेर पुगिने भगवती हिमालय माध्यमिक विद्यालयमा पढ्न थाले । पढाईमा अब्बल उनले २०४८ को एसएलसीमा जिल्लाकै उत्कृष्ट ७४ प्रतिशत नम्बर ल्याएर विद्यालयलाई नै पहिलो बनाइदिए। जिल्लाभर रहेका ६८ माध्यमिक विद्यालयमध्ये उनी पढेको विद्यालय उत्कृष्ट भयो।

एसएलसी दिएर बस्दै गर्दा सोही विद्यालयमा पढाएका ती दिनहरु सम्झदा गर्व लाग्छ उनलाई । ‘माध्यमिक स्तरकै शिक्षक बनेर पढाउन गएँ,गुरु सरहको मान्यता पाँए । जिन्दगीमा गर्व गर्न लायकको क्षण रह्यो मेरो ।’
एसएलसीको नतिजाले उनलाई काठमाडौंसम्म धकेलेको थियो । ‘पढेर छोरो डाक्टर, पाइलट बनोस भन्ने घरपरिवार र दाजुहरुको इच्छा थियो,’ पूराना दिन उनको स्मृतिमा ताजा हुँदै आयो,‘तर मेरा लागि विज्ञानभन्दा अर्थशास्त्रमा बढी रुची थियो ।’ परिवारकै इच्छा अनुसार उनले अमृत साइन्स क्याम्पसमा विज्ञान विषयमा अध्ययन थाले।

घरको कान्छो छोरा, काठमाडौंमा खाना, बस्न र पढ्नकै लागि पैसाको कमी त थिएन । तर, धनाढ्य परिवारका साथीहरुसँग घुमफिर र रमाइलो गर्न पैसा नपुग्ने भएपछि ट्युसन पढाउन थाले । आइएस्सी पढ्ने उनले आइएका विद्यार्थीलाई गणित पढाउँथे।

अनि फणिन्द्रको बाटो मोडियो।

त्रिचन्द्र क्याम्पसबाटै समाजशास्त्रमा स्नातकोत्तर गर्दै गर्दा फणिन्द्रलाई विदेश जाने बतासले छुन थाल्यो । अनि उनी कसरी विदेश हानिए ? माथि उल्लेख गरिएकै छ । तर किन फणिन्द्रलाई विदेश जान काउकुती लागिरहयो ? त्यसको कारण छ । उनले दार्शनिक अन्दाजमा नेपाली समाजको विश्लेषण गरे । ‘आफ्ना लागि भन्दा समाजका लागि विदेशीनुपर्ने नेपाली युवाको वाध्यतामा कँहि कतै म पनि गाँसिको थिँए, फणिन्द्र अलि गम्भिर सुनिए,‘विदेश गएपछि समाजले दिने प्रतिष्ठा र इज्जत गर्ने परम्पराले मलाई पनि परदेशी बनायो ।’

परदेशी भएर ठिकै गरे सायद फणिन्द्रले । किनकी उनले त्यहाँ उच्च शिक्षा हासिल गरे । सामाजिक कार्यमा सक्रिय रहे । व्यवसाय गरे । आफूले सिकेको ज्ञान,सिप र प्रविधि नेपाली समाजको हितका लागि उपयोग गरे । गरिरहेकै छन् ।

एक्लै हुँदा नेपाल बाहिर रहनुपर्दाको कुराले आफ्नो मनमा छटपटी हुने बताउँछन् फणिन्द्र । नेपालमा महशुस गर्ने आनन्द १८ वर्ष विदेश बस्दा पनि लिन नसकेको उनको अनुभव छ । मौलिकपन र परिचय जोगाउन अन्तरसंघर्ष भइरहने विदेश बसाइमा पेट पाल्नकै लागि खुशी बेच्नुपर्ने तितो अनुभव उनले पनि भाेगेका छन् ।  निकट भविष्यमा नेपाल फर्किने साेँच छ उनकाे । उनी भन्छन्, ‘बाहिरि चमक, धमकको भरमा विदेशीनुभन्दा देशभित्रै रमाउन सिक्नुपर्छ ।’

त्यसैले त होला उनले युवाहरुलाई नेपालमै संभावना खोज्न अपिल गरिरहेका हुन्छन्।