नेपाली उबरचालक खड्कामाथि दुर्व्यवहार गर्ने महिलाले प्रहरीसमक्ष आत्मसमर्पण गरिन्

विभिन्न चार अभियोगमा जेल

नेपाली उबरचालक खड्कामाथि दुर्व्यवहार गर्ने महिलाले प्रहरीसमक्ष आत्मसमर्पण गरिन्

सानफ्रान्सिस्को । अमेरिकाको पश्चिमतटीय राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाली उबरचालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने बुल्ली अर्ना किमाईले स्थानीय प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन्। उनले आइतबार राती आत्मसर्मण गरेकी हुन्।

उनलाई आक्रमण तथा हातपात, डकैती, षड्यन्त्र र स्वास्थ्य तथा सुरक्षा नियमको उल्लंघन गरेको अभियोगमा प्रहरी हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको छ।

अपराधिक पृष्ठभूमी भएकी २४ वर्षीया किमाइ इरानी मूलकी अमेरिकी नागरिक हुन्। आफ्ना दुई साथीसँग उबर चढेकी उनले उबरचालक खड्कालाई लछापछार पार्ने, उनको मोबाइल फोन लुट्ने र उनीमाथि खोक्नेजस्ता हर्कत गरेकी थिइन्।

मास्क नलगाइ उबर चढेकी उनलाई उबरको कानूनअनुसार मास्क लगाएपछि मात्र गन्तव्यमा लैजाने भनेपछि त्यसको अवज्ञा गर्दै उनी त्यो हदको हर्कतमा उत्रिएकी थिइन्।

यसअघि नै यो हर्कते काण्डमा किमाईलाई साथ दिने अर्की महिला मलेसिया किङ विहिबार नै पक्राउ परेकी थिइन्।अपराधिक पृष्ठभूमिकी यी महिलालाई आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोगमा प्रहरी हिरासतमा राखिएको छ।

उबर चढेकी तेस्री महिला जो बुलिङमा सहभागी थिइनन्, उनलाई भने प्रहरीले कुनै कारबाही गर्न आवश्यक ठानेको छैन।

सुभाकरमाथि भएको यो दुर्व्यवहारको घटनाले अमेरिकी सामाजिक सञ्जाल मात्र हैन, मूलधारका मिडियामा पनि महत्व पाएको छ। यसलाई केही समययता अमेरिकामा एसियाली मुलका मानिसमाथि भैरहेको दुर्व्यवहारका श्रृङखलावद्ध घटनाको अर्को एक घटनाका रूपमा लिइएको छ।

तर, रैथाने अमेरिकी भने यो एसियाली मूलकै महिलाले गरेको एसियालीमूलकै मानिसलाई गरेको दुर्व्वयहारको घटना भएकाले यसलाई अमेरिकीले गरेको घटना भनेर चित्रण गर्नु अतिरञ्जित भएको बताउँछन्। दक्षिणपन्थी रेडियो प्रस्तोता माइक रिड भन्छन्, ‘यो एसियालीहरूको ककफाइट हो, अमेरिकामा आएर उनीहरूले ककफाइट गरे, उल्टै अल्पसंख्यकमाथिको दुर्व्यवहार भनेर अमेरिकीकै हुर्मत लिए।’

यसैबीच उबरचालक खड्काका लागि क्यालिफफोर्नियाकी लगानीकर्ता र व्यवसायी सायन बेनिस्टर विधाता भएर देखापरेकी छिन्। उनले सुरु गरेको फण्डरेजमा ९८ हजार डलरभन्दा धेरै रकम संकलन भइसकेको छ। त्यसमा बेनिस्टरले २० हजार डलर आफ्ना तर्फबाट म्याच गर्ने घोषणा गरेकीले खड्काका लागि एकलाख १८ हजार डलरभन्दा बढी रकम संकलन भैसकेको छ।

यो घटना अत्यन्त निन्दनीय छ र यसको जति नै भत्सर्ना गर्दा पनि कमै हुन्छ। तर, यो पनि सत्य हो कि उबरमा यस्ता प्रकृतिका घटना सामान्य नै मानिन्छन् । हो यो सीमाभन्दा बाहिर नै हो। यस्ता घटनामा सामान्यतः उबरले उबरचालकलाई दोषी देखाएर उनीहरूको अकाउन्ट नै बन्द गरिदिने गरेको छ।

तर, शुभाकर भाग्यमानी ठहरिए। उनीमाथि घटेको यो घटनाले उबरचालकमाथि भैरहेको अत्याचारको पर्दाफास भयो र आइन्दा उनीहरूमाथि ग्राहक र कम्पनी दुबै तर्फबाट हुँदैआएका ज्यादतिका बारेमा फरकखाले संकथन लेख्ने प्रतिनिधि घटना बन्यो।

हो, पछिल्लो समय अमेरिकामा खासगरी एसियाली मुलका मानिसमाथि रंगभेदी व्यवहार भैरहेको छ। तर, यो प्रतिनिधि घटनामा इरानी मूलकी बुल्ली संलग्न भएकीले यस घटनालाई त्यो रूपमा चित्रण गर्नुचाँहि त्यति बुद्धिमानी ठहरिदैन। तर, यसो भनेर यो घटनालाई अर्कै टापूको घटनाका रूपमा लिनु पनि हुदैन। यसलाई एसियाली मुलका मानिसमाथि हुँदै आएको रंगभेदी दुर्व्यवहारकै ’बाइ प्रडक्ट’का रूपमा भने लिन सकिन्छ।

जे होस्, शुभाकरका कारण नेपाल अमेरिकाको सामाजिक सञ्जालमा मात्र हैन, मूलधारको मिडियामा पनि चर्चामा छ। समाचारका लागि चाहिने न्युनतम आधार फाइब डब्लु र वन एचको खोजीमा शुभाकर र उनको मूलथलो नेपाल सन्दर्भवश आएको छ। यसले नेपाल र नेपालीको छविलाई सकारात्मक रूपमै प्रस्तुत गरेको छ।