जापानमा श्रमिक अभाव हुनसक्ने डर, कम्पनीले बढाउन थाले नयाँ श्रमिक भर्ना प्रक्रिया

जापानमा श्रमिक अभाव हुनसक्ने डर, कम्पनीले बढाउन थाले नयाँ श्रमिक भर्ना प्रक्रिया

टोकियो । जापानका कम्पनीले कोरोना भाइरसको महामारीपछिको रणनीति शुरु गरेका छन् । श्रम अभाव कम गर्न यहाँका कम्पनीले कर्मचारी भर्ना बढाउन थालेका छन् ।

पश्चिम जापानको कान्साई क्षेत्रमा ट्याक्सी सेवा प्रदायक कम्पनी एमके ग्रुपले अप्रिलमा शुरु हुने आर्थिक वर्षका लागि २ हजार नयाँ कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । यो कम्पनीले सामान्यतः भर्ना गर्ने नयाँ कर्मचारीको तुलनामा साढे २ गुणा बढी हो ।

फुकुओका प्रिफेक्चरको किताक्युशु शहरमा दाईची कोसु साङ्ग्योले सामान्य वर्षको भन्दा २ हजार बढी कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । कोरोनाको महामारी अघि यी दुवै कम्पनीले श्रमिक अभावको सामना गरिरहेको थिए ।

महामारी हटेपछि पयर्टन क्षेत्रमा पुनःबहाली आउने अपेक्षामा कम्पनीहरुले कर्मचारी सुरक्षित गर्न खोजेका हुन् । होम इम्प्रूभमेन्ट स्टोर चेन काइन्जले पनि सन् २०२२ को फेब्रुअरीसम्म अनलाइनमा बढ्दो मागको पूर्ति गर्न अतिरिक्त कर्मचारी भर्ना गर्दैछ ।

आउटसोर्सिङ कम्पनीले आर्थिक वर्ष २०२१ मा ३ हजार फूल टाइम कर्मचारी भर्ना गर्ने भएको छ । तीव्र दरमा बढिरहेको डिजिटल अर्थतन्त्रको सामना गर्न कम्पनीले आईटी कम्पनीमा इन्जिनियर पठाउँदैछ।

तोशिबाले पनि आर्थिक वर्ष २०२० मा नयाँ ग्रयाजुएटको भर्ना १० प्रतिशतले बढाउने योजना बनाएको छ । उता, रेल्वे र यात्रा उद्योगले भने नयाँ भर्ना घटाइरहेका छन् ।