ब्राजिलमा एकैदिनमा थपिए ७६ हजार कोरोना संक्रमित, १ हजार ९९७ को मृत्यु

ब्राजिलमा एकैदिनमा थपिए ७६ हजार कोरोना संक्रमित, १ हजार ९९७ को मृत्यु

ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिन ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् ।

कोरोना संक्रमणका कारण सोही अवधिमा कम्तीमा १ हजार ९९७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । उक्त स्थानमा पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ । सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । उनले शनिबार पहिलो खोप लगाएका हुन् । खोप लगाएपछि उनले भने,“कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ।” उनले सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे ।

पूर्व राष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिए ।