म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति

म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति

वासिङ्टन । अमेरिकाले राजनीतिक संकटमा फसेका म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।

म्यान्मारमा गत १ फेब्रुवरीमा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

‘सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,’ गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने ।

सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उहाँले जानकारी दिए।

‘म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,’ उनले भने ।

यो व्यवस्था ११ मार्चपछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए ।

म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिकासहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् ।

डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन जारी छ ।