थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित

थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित

बैंकक । थाईल्यान्डले शुक्रबार कोभिड १९ बिरुद्धको खोप अभियान स्थगित गरेको छ । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेकोले थाईल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गरेकै दिन थाईल्यान्डले खोप अभियान स्थगन गरेको छ । अमेरिकामा अहिले खोप अभियान तिब्र रुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका छन् । स्वास्थ्यसम्बन्धी नियामक निकायहरुले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन् । सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाई छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।

थाईल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले खोप लगाउने कार्य रोकेका छन् । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिए ।

खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवं खोपको प्रभावकारितामाथि आशंका फैलिएसँगै लन्डन स्टक एक्सचेन्जमा अस्ट्राजेनिकाको शेयरमूल्य २.५ प्रतिशतभन्दा बढीले घटेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही मुलुकले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही मुलुकले खोपको राजनीति गरिरहेको आरोप लगाएका छन् ।