हवाइ उडानमा जापानको कडा नीति : विदेशी विमान कम्पनीले एक सयभन्दा बढी यात्रु बोक्न नपाउने

हवाइ उडानमा जापानको कडा नीति : विदेशी विमान कम्पनीले एक सयभन्दा बढी यात्रु बोक्न नपाउने FILE PHOTO

टोकियो । टोकियो र आसपासका तीन प्रिफेक्चरमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको आपतकाल अहिने पनि यथावत् छ । टोकियो ओलम्पिक्स सुरु हुन अब केही महिना मात्रै बाँकी छ । यस्तोमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन यहाँको सरकारले अन्तर्राष्ट्रिय यात्रीहरुको आगमनमा थप कडाइ गरेको छ।

निक्केईले बताए अनुसार हरेक जापानी विमान सेवा प्रदायकहरुले साप्ताहिक रुपमा ३ हजार ४०० सम्म यात्री ल्याउन पाउने भए पनि विदेशी विमान सेवा प्रदायक कम्पनीले एक पटकको उडानमा सयभन्दा धेरै यात्रु ल्याउन नपाउने भएका छन् ।

यो नयाँ नियम एक वर्ष अघिको तुलनामा झनै कठोर हो। त्यतिबेला गैर–जापानी विमान सेवा प्रदायकले एक पटक उडान गर्दा ३०० सम्म यात्रीलाई ल्याउन पाउँथे । मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोका अनुसार हालै संसोधन गरिएको क्वारेन्टाइनका उपाय उचित तवरले अपनाइयोस् भन्ने सुनिश्चित गर्नका लागि यो नियम दगाइएको हो ।

सरकारले कठोर बनाएको क्वारेन्टाइनका उपायहरु अन्तर्गत कोरोना भाइरसको संक्रामक प्रकार देखिएका देश तथा क्षेत्रहरुबाट आउने विदेशी नागरिकहले तीन दिन निर्धारित सरकारी केन्द्रमा क्वारेन्टाइनमा बसेर एक पटक पीसीआर परीक्षण गराउनु पर्नेछ।

२ हप्ते क्वारेन्टाइनको बाँकी अवधि भने आफैले छानेको ठाउँमा सेल्फ आइशोलेशनमा बस्न सक्नेछन् । यात्रीको संख्यामा लगाइएको यो सिमा सरकारले चालु आपतकाल सकिएपछि देशभित्र आउने अनुमति दिने मानिसको संख्यामा सीमा तोक्नेबारे विचार भइरहेकै समयमा आएको हो।

टोकियो ओलम्पिक्समा सहभागी हुने विदेशबाट दर्शकलाई आउन दिने कि नदिने भन्नेबारे सरकारले यही महिना निर्णय गर्दैछ।