नेपाल एशोसिएसन यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा रोक

नेपाल एशोसिएसन यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा रोक

यूएई । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसीले) नेपाल एशोसिएसन (एनए) यूएईलाई संघको लोगो र संघ सम्बन्धी अन्य गतिविधि गर्न रोक लगाएको छ। संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले मध्यपूर्व क्षेत्रीय समितिलाई पत्रचार गर्दै यस्तो निर्देशन गरेका हुन्।

‘गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई नेपाल एशोसिएसन (एनए) यूएईको नाममा दर्ता भई संघको विभिन्न गतिविधि हुँदै आएको तर सन् २०१९ अगष्टमा प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचन भएपछि गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएई र नेपाल एशोसिएसन यूएईले दुई छुट्टाछुट्टै संस्थाको रुपमा गतिविधि गर्दै आएक ’भन्दै नेपाल एशोसिएसन यूएईलाई संघको लोगो र संघ सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न निर्देशन गरिएको छ।

निर्वाचन पश्चात् सन् २०१९ अगष्टमा नेपाली दूतावास यूएई र अक्टोबर १९ मा संघको काठमाडौंस्थित सचिवालयमा भएको सम्झौता पत्र अनुसार संघका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले वर्तमान अध्यक्ष प्रकाश कोइरालालाई संघको कोषलगायत सम्पुर्ण कागजात १ महिना भित्र हस्तान्तरण गर्ने भनिएको थियो ।तर, सम्झौता अनुसार निवर्तमान अध्यक्ष श्रेष्ठले एनसीसी यूएईलाई कोषको रकम र कागजात नबुझाएकोले १ महिना भित्र सत्यतथ्य पत्ता लगाई आईसीसीमा प्रतिवेदन बुझाउन मध्यपूर्व संयोजक प्रवीण गुरुङ, उपसंयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याललाई निर्देशन गरिएको छ।