जापानमा नवप्रवेशी विदेशीलाई फेरि प्रतिवन्ध

जापानमा नवप्रवेशी विदेशीलाई फेरि प्रतिवन्ध

टोकियो । जापानले कोरोना भाइरसको नयाँ प्रकारबाट जोगिन विदेशी नागरिकहरुको प्रवेशमा लगाइएको प्रतिबन्ध यथावत् राख्ने भएको छ । यहाँको सरकारले शुक्रवार टोकियो र आसपासका तीन प्रिफेक्चरमा आपतकाल थप २ साता लम्ब्याएको थियो।

टोकियो ओलम्पिक्स शुरु हुन केही महिनामात्रै बाँकी छ । प्रतियोगिताको तयारी चलिरहेको छ । टोकियो ओलम्पिक्स शुरु हुने दिन नजिकिदैं गर्दा संक्रमण बल्झिन नदिन अधिकारीहरुले विशेष रुपमा सचेत छन् । पछिल्लो घोषणा अनुसार आपतकाल २१ मार्चमा सकिनेछ । यो ओलम्पिक टर्च रिले शुरु हुन एक हप्ता मात्रै अगाडि हो।

सरकारले शुरुमा कोरोना भाइरसको नयाँ प्रकार नदेखिएका देशका आगन्तुकहरुको स्वागत गर्नेछ । चीन, दक्षिण कोरिया, सिंगापुर र भियतनामसँग व्यवसायिक यात्रा छूटमा स्थगन कायमै नै रहने छ । यी देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएकोले सो निर्णय गरिएको हो ।

प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण पुनःबल्झन नदिने र आपतकाल योजना बमोजिम हटाउन सकिन्छ भन्ने सुनिश्चित गर्ने वाचा गरेका छन् । जापानले उच्च प्राथमिकतामा सीमा नियन्त्रणलगायत संक्रमण रोकथामका उपाय राख्नेछ ।

नयाँ प्रकारका कोरोना भाइरस भित्रन नपाओस भनेर थप सतर्कता अपनाउन जरुरी भएको सुगाको भनाइ छ । सरकारले डिसेम्बरको अन्त्यमा विदेशीहरुको नवआगमनमा रोक लगाएको थिया् । आपतका घोषणापछि सीमापार कोरोना भाइरसको नयाँ प्रकार फैलिन थालेपछि १४ जनवरीमा ११ देश र क्षेत्रका व्यवसायिक यात्रा छूट पाएका यात्रीहरुमाथि पनि रोक लगाइएको छ।

२१ मार्चमा आपतकाल हटाएपछि पनि प्रवेश प्रतिबन्ध यथावत् रहने छ । व्यवसायिक यात्रा सम्झौतामा २ ओटा ढाँचा छ । पहिलो ढाँचा ‘विजनेश ट्र्याक’ चीन, दक्षिण कोरिया, सिंगापुर र भियतनामबाट छोटो अवधिका लागि आउने व्यवसायिक यात्रीको लागि हो । अनि दोस्रो ‘रेजिडेन्ट ट्र्याक’ चाँहि मध्यदेखि दीर्घकालिन अवधिका लागि चीन र दक्षिण कोरिया समेत ११ क्षेत्रबाट आउने आप्रवासी र प्राविधिक प्रशिक्षार्थीहरु लगायतका लागि हो।

विजनेश ट्र्याकले जापानसँग मजबूत सम्बन्ध रहेका देशहरुलाई समेटेको छ । जापानले अहिले वैध आवासीय अनुमति भएका बाहेक नवप्रवेशी विदेशी नागरिकलाई आउन दिएको छैन । जापानी नागरिकहरुमाथि समेत क्वारेन्टाइनका उपायहरु बढाइएको छ ।