सरसफाइ मजदुरी गर्ने दिलबहादुर पाँच कम्पनीको व्यवस्थापक

सरसफाइ मजदुरी गर्ने दिलबहादुर पाँच कम्पनीको व्यवस्थापक

अरूको सफलता सुन्दा आनन्द लाग्नु स्वभाविक हो। तर, भोगाई आ–आफ्नै हुन्छ। यस्तै, एउटा पात्र हुन्, ३७ वर्षीय दिलबहादुर विक।

दिलबहादुर सानोमा खुब अध्ययन गर्न चाहन्थे। आम नेपाली सरह उनी डाक्टर तथा इन्जिनियर बनेर देश सेवा गर्न चाहन्थे। तर, उनको यो सपना गरिबीका कारण पूरा हुन पाएन। उनले प्राथमिक तहको अध्ययन मात्र गर्न पाए।

गाउँमा कुनै विकल्प नभएपछि सानोमा घरबाट भागेर भारत पुगे। त्यहाँ काम गरे। फेरि देश फर्किएर पढाइलाई निरन्तरता दिन खोजे। तर, परिस्थिति उनले भने जस्तै अनुकुल हुन सकेन। पढाइ उनको अब्बल नै थियो। तर, ओमनबाट छुट्टिमा आएका मामाले विदेशको तुलना आफ्नो देशसँग गर्न थालेपछि उनको मन पढाइभन्दा पनि वैदेशिक रोजगारीतर्फ मोडियो।

घरका उनी जेठो सन्तान। पारिवारिक समस्या पनि उस्तै। बुवाआमाको इच्छा पनि छोराले दुईचार पैसा कमाएर घरमा भरथेक गरोस् भन्ने थियो। त्यसैले उनी पढाइलाई पुनः बीचमा चटक्कै छोडेर एउटा जिम्मेवार सन्तानको रूपमा ओमन लागे।

उनी २००५ मा सरसफाई मजदुरको रूपमा ओमन पुगे। ओमनको ओआइजी कम्पनीमा सरसफाई कर्मचारीको रुपमा पहिले काम गर्दा उनी सन्तुष्ट नै थिए।

मासिक ३० रियाल (त्यतिबेला करिब ८ हजार) तलब थियो। खानबस्ने सुविधा कम्पनीले नै गथ्र्यो। ‘मेरो लागि त्यतिबेला ठूलो कुरा थियो,’ पुरानो कुरा सम्झदैं दिलबहादुर भन्छन्।

उनले ओआइजी कम्पनीमा ६ वर्ष काम गरे। ओआइजी मार्फत पीडीओमा काम गरिरहकै बेला उनले कर्मचारीलाई कम्प्युटर कोर्स गराउन लागेको जानकारी पाए। पढे लेखेकालाई विशेष प्राथमिकता दिने भनिएको थियो। उनको पढाइको स्तर कम थियो तर, पनि उनले हरेस खाएनन्। परीक्षाबाटै प्रशिक्षार्थी छनोट गर्ने पीडीओको निर्णयअनुरुप उनी छानिए ।

ओआइजी कम्पनीमा साथीहरुसँग दिलबहादुर

नेपालमा कम्युटर छुन समेत नपाएका दिलबहादुरलाई कम्पनीको यो सुविधा निकै ठूलो अवसर थियो । ओमनले वेसिक कोर्ष सिकाए पनि उनीमा कम्प्युटरको धित मरेको थिएन । त्यसैले, छुट्टी मिलाएर नेपालमै कम्युटर अफिस कोर्स गरेर फर्किए । उनी भन्छन्, ‘मलाई कम्प्युटरमा यति रुची बढेको थियो की तीन महिनाको कोर्ष २५ दिनमै सक्काएर फर्कीएको थिएँ ।’ यो कोर्ष नै उनको जीवनको ‘टर्निङ प्वइन्ट’ बन्यो ।

क्लीनिङमा आफ्नो भविश्य खोजिरहेका दिलबहादुरलाई कम्प्युटर कोर्षपछि ओआइजीले बैंकको ढोका खोलिदियो । अब उनी बैंकको अफिस ब्वाय बन्न पुगे । अफिस ब्वायसँगै उनको पारिश्रमिक पनि पाँच गुणाले बढ्यो। कहिलेकाही सानो सीपले पनि प्रदेशमा ठूलो अवसरको ढोका खोलिदिन्छ ।

दिलबहादुर बैंकमा नियमित जान थालेको दुई वर्ष भइसकेको थियो । उनको व्यक्तित्वबाट बैंकसरहरु यति प्रभावित थिए की एक जना उच्च पदस्थ कर्मचारीले शुरुवात गर्न थालेको आफ्नै व्यवसायमा महत्वपूर्ण भूमिकाको अफर दिए । त्यसैले २०१२ मा उनको बाटो ओआइजीबाट सेल्स ब्वायतर्फ मोडियो ।

‘त्यो कम्पनीले चप्पलको रिटेल कम्पनी थियो’, उनले भने, ‘त्यहाँ सेल्स अफिसरबाट काम शुरु गरेँ र २०१४ मा त ब्रान्च मेनेजर नै बने ।’ तर, उनी त्यसैमा मात्र सिमित रहेनन्। अहिले परफ्युम, लेडिज स्याण्डल, चप्पललगायत ४ कम्पनी र एक फ्याक्ट्रिमा व्यवस्थापकको भूमिकामा पुगिसकेका छन् । कम्पनीको फाइनान्स र अपरेटिङ समेत दिलबहादुर आफैले व्यवस्थापन गर्ने क्षमताको विकास गरिसकेका छन् । यही क्षमताले गर्दा उनी होम सिकमा पर्नु परेको छैन। अटेर मेटाउनको लागि परिवारलाई बेला बेला ओमन नै बोलाउँछन् । र, गर्वसाथ आफ्नो काम देखाउँछन्।

ओमनमा श्रीमतीसँग दिलबहादुर

आफ्नै कम्पनीमा डेढ दर्जनभन्दा बढी नेपालीलाई फ्रि भिसा/टिकटमा पु¥याएका छन् । हिजो रोजगारीको लागि भौतारिएका दिलबहादुर आज रोजगार दाता बनेका छन् । उनी भन्छन्, ‘यसरी नेपालीलाई सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।’

तर, हिजो आठ पास गर्न नसकेका दिलबहादुरलाई आज भने शिक्षाको महत्व झन बढेको छ । उनी भन्छन्, ‘जीवनमा शिक्षा नै सबैभन्दा महत्पूर्ण रहेछ । यदि मसँग उच्च शिक्षाको सर्टिफिकेट हुन्थ्यो भने १० वर्ष पहिले नै अहिलेको अवस्थामा पुग्थेँ ।’ उनी अहिले जुन स्थानमा छन् त्यो दिलबहादुरको सानो मेहनतले बनेको होइन।

दिलबहादुर आफ्नो लागि मात्र होइन की प्रदेशमा नेपाली श्रमिकको लागि ठूलो प्रेरणा हुन् । अदक्ष कर्मचारीले समेत प्रदेशमा कसरी क्षमता विकास गर्दै पद, पैसा र प्रतिष्ठा बढाउन सक्छ भन्ने उदाहरण पनि हुन्।