टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश नदिइने

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश नदिइने

टोकियो । ग्रीष्म ऋतुको टोकियो ओलम्पिक र पाराओलम्पिक आयोजकहरूले विदेशी दर्शकहरूलाई खेलकुद प्रतियोगिता हेर्न आउन अनुमति नदिने भएका छन्।

कोरोना भाइरसको संक्रमणलाई रोक्न विश्वव्यापी प्रयास प्रारम्भिक रूपमा अपेक्षित भन्दाबढी समय लागिरहेको बताउँदै ओलम्पिक आयोजकहरुले खेल सम्वद्ध व्यक्तिहरु बाहेककलाई प्रवेश नदिने तयारी गरेका हुन्।

ग्रीष्म ऋतुका आयोजक निकायका प्रमुखहरूले मार्चको मध्यमा यस विषयमा निर्णय लिन भर्चुअल बैठक गर्ने अपेक्षा गरिएको छ ।ओलम्पिक कमिटिका एक अधिकारीहरुका अनुसार व्यवहारिक रुपमा योजना बनिसकेको बताएका छन्।

जापानी टोकियो ओलम्पिक तथा पारा ओलम्पिक आयोजक समितिका सिईओ तोशिरो मुतोले पनि शुक्रबार एक पत्रकार सम्मेलनमा ओलम्पिक प्रशंसकहरुलाई विदेशबाट स्वागत गर्न गाह्रो भएको संकेत गरेका थिए।

‘हामी वास्तवमै संसारभरका व्यक्तिहरू पूर्ण स्टेडियममा ल्याउन चाहान्छौं । तर, जबसम्म हामी उनीहरूलाई स्वीकार्न तयार हुँदैनौं र जापानको चिकित्सा अवस्था उत्तम छ भने यसले विदेशबाट आउने पर्यटकहरूलाई पनि ठूलो समस्या निम्त्याउने छ’ टोकियो ओलम्पिक र पाराओलम्पिक आयोजक समितिका अध्यक्ष सेईको हाशिमोतोले भनिन् ’मानिसहरूले सोच्दछन् कि हामी जे भए पनि खेलहरू आयोजित गर्न जबरजस्ती गर्दैछौं । तर, त्यो सत्य होइन।’ सात पटकका ओलम्पियनले आफ्नो पूर्ववर्ती योशिरो मोरीले दुई हप्ताअघि समितिको नेतृत्व लिएपछि बताइन्।

२०२२ सम्म ओलम्पिक पछाडि धकेल्ने विकल्प नभएको उनको भनाइ छ।

जापानमा खेलकुदको लागि सार्वजनिक समर्थन घट्दो क्रममा रहँदा संक्रमणको अवस्थामा समेत सुधार नदेखिंदा चिन्ता बढेको छ । यहि बीचमा नयाँ संक्रामक भाइरस संक्रमण बढिरहेको छ ।

समितिका सीईओ तोशिरो मुतोले क्योदो समाचारसँगको एक अन्तर्वार्तामा पनि त्यस्तै धारणा व्यक्त गरेका थिए । प्रधानमन्त्री योशीहिदे सुगाले टोकियो महानगर क्षेत्रको आपतकालिन अवस्था सन् २०२१ मार्च २१ सम्म विस्तार गरेको समयमा ओलम्पिकमा सहभागी हुन आउन दिने बारेमा यो खवर सार्वजनिक भएको हो।

स्थानीय समिति र अन्तर्राष्ट्रिय ओलम्पिक समिति लगायत खेलका पाँच आयोजकहरू मार्चको अन्त्यसम्ममा विदेशी दर्शकहरूलाई के गर्ने भनेर अन्तिम निर्णयमा पुग्नेछन् ।