लाप्राक नमूना वस्ती निमार्ण अन्तिम चरणमा, १२ बैशाखमा हस्तान्तरण गरिदैँ

लाप्राक नमूना वस्ती निमार्ण अन्तिम चरणमा, १२ बैशाखमा हस्तान्तरण गरिदैँ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’को काम अन्तिम चरणमा पुगेको जनाएको छ। वस्ती निमार्णको कार्य अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले बताएका छन् । बाँकी रहेका केही कार्यहरु बैशाखको पहिलो साता नै पूरा गर्नेगरि काम भइरहेको लामाको भनाइ छ।

वस्ती निमार्णको काम सकिन लागेपछि संघको टोलीले लाप्राक पुगेर अन्तिम चरणको अवलोकन समेत गरेको छ। बिहीवार हेलिकप्टमार्फत लाप्राक पुगेर संघको टोलीले वस्तीको अवलोकन गर्दै सेवाग्राहीसँग छलफल गरेको हो।

अवलोकन गर्न राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, युरोप क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्व क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, आइसीसी सदस्य चिन्तामणी सापकोटा, एनीसीसी अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष बुद्धिसागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामाङसहितको टोली गोरखाको धार्चे पुगेको थियो।

 

सेवाग्राहीसँगको छलफलमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले ‘लाप्राक नमुना वस्ती’ गैरआवासीय नेपाली अभियानको लागि गौरवको परियोजना भएको बताए। ‘लाप्राक नमुना वस्ती गैरआवासीय नेपाली र तपाईँहरु (लाप्राकवासी) का लागि ठूलो सौभाग्य हो । दुःखको बेला एकले अर्काेलाई सहयोग गर्नुपर्छ, यो मानव जातीको धर्म हो,’ महतोले भने।

 

त्यस्तै पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले लाप्राक वस्तीलाई संसारकै नमुना वस्ती बनाउन सकिने र त्यसका लागि स्थानीयवासी अग्रसर हुनुपर्ने बताए। लााप्राक वस्तीलाई ‘होम स्टे’ को रुपमा प्रयोग गरेर संसारभरका पयर्टकलाई आकर्षण गर्न सकिने लामिछानेको भनाइ थियो । ‘हामीले वस्ती मात्रै निमार्ण गरिदिएका छौँ। यसलाई हराभरा कसरी बनाउने हो त्यो तपाईँहरुको हातमा छ,’ स्थानीयवासीलाई सम्बोधन गर्दै उनले भने,‘अब यो वस्तीलाई आफ्नै घर सम्झेर हराभरा बनाउनु होला।’

त्यसैगरि अवलोकनका लागि पुगेका राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले देशलाई संकट पर्दा सहयोग गरेकोमा एनआरएनएलाई धन्यावाद दिए । उनले धन्यावाद दिँदै भने, ‘देशभन्दा बाहिर रहेपनि भावनात्मक रुपले नेपाल र नेपालीप्रति अपनत्व दर्शाएर देशलाई संकट पर्दा सहयोग गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट धन्यावाद छ । गैरआवासीय नेपालीबाट प्राप्त भएको यो सहयोग नेपाल सरकारको लागि एउटा मह्त्वपूर्ण माइलस्टोन हुनेछ ।’

संघका अध्यक्ष कुमार पन्तले वस्ती बैशाख १२ गते एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने बताए। अहिले स्थानीयवासीलाई लालपूर्जा वितरणको काम भइरहेको उनको भनाइ छ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी उक्त क्षेत्रमा कूल ५७३ घर भत्किएका थिए। भत्किएका घर निर्माणको जिम्मा एनआरएनएले लिएको थियो। जसका लागि सरकारले सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो।