मलेसियाको सामाजिक सुरक्षा कोष ‘सोक्सो’मा कसरी आवद्ध हुने ? नेपाली श्रमिकलाई के फाइदा हुन्छ ?

मलेसियाको सामाजिक सुरक्षा कोष ‘सोक्सो’मा कसरी आवद्ध हुने ? नेपाली श्रमिकलाई के फाइदा हुन्छ ? क्वलालम्पुर

क्वलालम्पुर । मलेसियाको सामाजिक सुरक्षा संगठन ( सोसल सेक्युरिटी अर्गनाइजेसन ‘सोक्सो’ ) र नेपालको वैदेशिक रोजगार बोर्डबीच सामाजिक सुरक्षा योजना सम्झदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रबर्धन सम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको क्ववलाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

सम्झदारी पत्रमा मलेसियाको तर्फबाट सोक्सोका कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मद र नेपालको तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले हस्ताअक्षर गरेका हुन्।

दूतावासको सकृयतामा समझदारीपत्रको मस्यौदामा विभिन्न चरणमा छलफल भएको थियो । अन्तिम मसौयादालाई नेपाल सरकारको मन्त्रिपरिषद्काे वैठकको निणर्यले समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिएको थियो ।

के हो सोक्सो ?

सोक्सो मलेसियाको मानव संशाधन मन्त्रालयअन्तर्गत मलेसियामा काम गर्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापित संस्था हो । रोजगारदाताले मासिकरूपमा गर्ने योगदानका आधारमा विदेशी कामदारलाई सोक्सोअन्तर्गत दर्ता गरिने व्यवस्था रहेको छ । मलेसिया सरकारले सन् २०२० देखि सबै विदेशी श्रमिकलाई अनिवार्यरूपमा लागू हुने निर्णय गरेको थियो ।

कसरी आवद्ध हुने ?

दूतावासका अनुसार हालसम्म करिव ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भइसकेका छन् । यस योजनामा आवद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्ने हुन्छ ।

विगतमा एफडब्लुसीएसमा आवद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि एफडब्लुसीएको म्याद समाप्त भएको अर्कोदिन सोक्सोमा दर्ता गराउनुपर्ने नियम रहेको थियो ।

तर, १ जनवरी २०२० पछि भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसै अनुसार हालसम्म ४ लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक यो योजनामा आवद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरु रहेका छन् ।

फाइदा के हुन्छ त ?

सामाजिक सुरक्षमा आवद्ध भएका विदेशी श्रमिकहरुले ‘इम्प्लोयमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ नामको योजनामा सामेल हुन पाउँछन् । यसअन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लागेमा सो वापत तोकिएको क्षत्तिपूर्ति प्राप्त हुन्छ ।

योजना बमोजिम प्राप्त हुने लाभहरुलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रति लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनस्र्थापना सुविधा गरी सात वर्गीकरण गरिएको छ ।

यि लाभहरु कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरुका निम्ति सोस्कोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ ।

कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फाराम भरेर सोस्को कार्यालयमा पेश गर्नुपर्ने हुन्छ ।

यदि काममा आउँदा वा कामबाट र्फकंदा दुर्घटना भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्छ । कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकहरुका लागि सोस्कोसँग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ ।

पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिसका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ ।

यसैगरी मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रति लाभ भने श्रमिक स्वयम् वा परिवारजनले पाउने सुविधाहरु हुन् ।

कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ ।

अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधिनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्छन् । आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा–हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । यस्ता लाभबापतका रकम नेपाल ल्याउन अब बोर्डले समन्वाय र सहजीकरण गर्नेछ ।

समझदारीपश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा वापतका लाभहरुको प्रवाह गर्न, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरुको सचेतीकरणका मुद्दाहरुमा दुवै देशवीच सहकार्य बढ्ने अपेक्षा दूतावासको छ ।