अमेरिकाले जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

अमेरिकाले जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन सहित तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको जनाए । राष्ट्रपति बाइडेनले विज्ञप्ति जारी गर्दै जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएको बारे जानकारी दिएका छन् । कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न अमेरिकीलाई यो समाचारले उत्साहित गरेको विज्ञप्तीमा उल्लेख छ ।

बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनले जोन्सनका खोपहरु मङ्गलबार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने जानकारी दिए ।

अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ । क्लिनिकल ट्रायल (नमुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो ।

जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो ।