आगामी नेतृत्वका लागि बद्री केसी साझा उम्मेदवार, कुमार पन्तलगायत पूर्व अध्यक्षहरुको समर्थन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव आउन अझै ठ्याक्कै ८ महिना बाँकि छ । संघको क्यालेण्डर अनुसार आगामी अक्टोबरमा चुनाव हुनेछ । दशौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने आठ महिनापछिको चुनावको रौनक भने अहिलेबाट नै देखिन थालेको छ।
आउने चुनावमा अध्यक्ष पदका लागि बलियो प्रत्यासी हुन, डा. बद्री केसी, जो अहिले उपाध्यक्ष छन् । हाल संघको नेतृत्व कुमार पन्तले गरिरहेका छन् । तर, अहिले चर्चा के पनि छ भने वर्तमान अध्यक्ष पन्तले नै आगामी कार्यकालको नेतृत्व गर्न चाहिरहेका छन् । कोभिडको कारणले आफ्ना धेरै काम बाँकी रहेकाले अधुरा कार्यभार पूरा गर्नका लागि उनले निरन्तरताको चाहाना राखेको हल्ला सुनिन्छ । यद्यपी पन्तले यसबारेमा आधिकारिक रुपमा कतै केही बोलेका छैनन् ।
डा. केसीले भने आगामी कार्यकालको अध्यक्षमा आफ्नो उम्मेदवारी रहने यसअघि नै खुलाइसकेका छन् । आगामी कार्यकालको लागि आफ्नो उम्मेद्वारी स्वाभाविक भएको र आफू नै अबको अध्यक्षको प्रत्यासी हुने विश्वास डा. केसीको छ । आफू एनआरएनएको स्थापनाकालदेखि नै राष्ट्रिय समन्वय परिषद् सदस्य हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षसम्म आइपुगेकोले अब काम गर्न बाँकी अध्यक्ष पद नै रहेकोले आफ्नो उम्मेदवारी अस्वाभाविक नरहेको उनको भनाइ छ ।वर्तमान अध्यक्ष कुमार पन्तसँगको आफ्नो सहकार्य पहिलो नभइ एनआरएनमा प्रवेश गरेदेखि नै सँगै काम गर्दै आइरहेकाले आफूहरु पदको लागि कहिल्यै रस्साकस्सी नगर्ने डा. केसी बताउँछन । उनले अबको आफ्नो उम्मेदारीलाई पन्तले गाइड गरेर लैजानेमा आफू विश्वस्त रहेको बताएका छन् । पन्तले अबको अध्यक्षमा आफूलाई विजयी बनाउन सघाउने उनको विश्वास छ । पूर्व अध्यक्षहरू सबैको आफूलाई समर्थन रहेको पनि उनको दावी छ ।
राष्ट्रिय समन्वय सदस्य हुँदै महासचिव, आइसीसी सदस्य, कोषाध्यक्ष, २ कार्यकाल महासचिव र अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालेका डा. केसी अबको चुनावमा एक बलिया प्रत्यासी पक्का हुन् । संघ स्थापना भएदेखि अहिलेसम्मका उपलब्धि,नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई गरेको मूल्याङ्कन, कोभिड महामारीमा एनआरएनएले खेलेको भूमिका, चुनावी तयारी, त्यहाँ हुने राजनीति र चुनाव जित्नका लागि गरिने रकमको चलखेल, र अन्य विविध विषयमा डा. केसीले प्रवास खबरका लागि बिनेश खनालसँग खुलेर कुराकानी गरेका छन् ।
झण्डै दुई दशकको इतिहास भएको एनआरएनएले गर्व लायक के उपलब्धि गर्यो जसलाई सम्झिइरहनुपर्ने हुन्छ ?
आँखा अगाडी नै देखिने सबैभन्दा ठूलो काम भनेको विदेशमा बस्ने नेपालीले नागरिकता प्राप्त गर्न पाउने व्यवस्थालाई संविधानमा समेट्न सकेका छौं । यसबाहेक व्यक्तिगत र सामूहिक रुपमा धेरै लगानी नेपाल भित्र्याइसकेका छौं । वैदेशिक रोजगारीमा भएकोे अनियमिततालाई सरकारसँगको निरन्तर लबिङमार्फत कम गराएका छौं ।
भरखरै वैदेशिक रोजगारीमा गएका साथीहरुलाई केन्द्रित गरेर सामूहि लगानीका लागि १० अर्बको कम्पनी खडा गरिसकेका छौं । विदेशी भूमिमा आ–आफ्नो क्षेत्रका जति पनि नेपाली विज्ञ छन् उहाँहरुलाई नेपाल अभियानमा आबद्ध गराउन दोस्रो पटक ‘स्किल्स एण्ड नलेज कन्प्रेन्स’ गर्न सफल भएका छौँ । दोस्रो पुस्ताका नेपालीलाई समेट्न विभिन्न कार्यक्रमहरु आएको छ यसलाई सम्झिनैपर्ने उपलब्धि मान्न सकिन्छ ।
एनआरएनएले प्रवासी नेपालीको सिप, ज्ञान, दक्षता र पूँजीको उपयोग गरेर नेपालमा विकासको जादु देखाउन सक्थ्यो तर, त्यसो गर्न सकेन भनिन्छ । यसमा कहाँ चुक्यो एनआरएनए ?
एनआरएनएसँग नेपाल सरकार र नेपाली जनताको ठूलो अपेक्षा छ । तर, एनआरएनए भनेको भरखरै विदेश गएका हाम्रै पुस्ता हो । धेरै समय आफू स्थापित हुन खर्च गर्नुपर्छ । बाँकी बचेको केही समय मात्रै यता दिन पाउने भएकोले यो उपलब्धिलाई ठूलो मान्नुपर्छ ।
१८ वर्ष वितिसक्यो, विदेशमा रहेका अधिकांश नेपालीलाई अझै एनआरएनएमा समेट्न किन नसकेको ?
संस्थाको परिचय अनुसार दुई वर्षभन्दा बढी विदेशमा बसेका सबै गैरआवासीय नेपाली हुन् । उनीहरु अनिवार्य रुपमा एनआरएनएको सदस्य संस्थाको हुनुपर्दैन । जो संस्थाका सदस्य छन् उनीहरुले संस्थाको गतिविधि नियाल्ने, चुनाव, अधिवेशनमा भाग लिने र मतदान गर्न पाउने अधिकार हुन्छ । तर, एनआरएनएले संस्थामा आवद्ध भए–नभएका सबै ८० लाख एनआरएनका लागि काम गर्छ।
प्रवासी नेपाली किन एनआरएनएसँग जोडिने ?
जहाँ नेपाल सरकार छैन, त्यहाँ एनआरएनए छ । १८ वर्षको अवधिमा हाम्रो संस्था ८२ देशमा फैलिएको छ । नेपाल सरकारकै कुटनीतिक नियोग ३५/३६ देशमा मात्र छ । यो नै हाम्रो ठूलो उपलब्धि हो । अफ्रिकाका कतिपय देशमा घण्टौ बस चढेर पासपोर्ट बनाइदिनु भन्दै एनआरएनए अफिस आउँछन् । पहिले पोर्चुगल, स्पेनमा पनि एनआरएनएले नै लिड गरिरहेको थियो । अहिले पोल्याण्ड लगायतका देशमा नेपाली दूतावास नभएको अवस्था छ । त्यहाँ एनआरएनएले दूतावासकै भूमिका खेलेको छ,सरकारको परिपूरकको काम गरेको छ।
एनआरएनएले देशमै आम नेपालीसँग एकाकार हुन सकेन भन्ने गुनासो छ, एनआरएनएमा आबद्धहरुले आफूलाई अर्कै ग्रहबाट आएको जसरी नेपालमा प्रस्तुत हुन्छन् भन्ने आरोप पनि छ । यस्तो किन ?
यो कुरामा म सहमत छैन । विदेश जानुपर्दा खासमा हामीलाई पछुतो लाग्छ । हामीलाई हाम्रो गाउँ ठाउँले जन्मायो, हुर्कायो, बढायो अनि पढायो । सक्षम बनेपछि चाँही हामी हामीले पढेजानेका कुरा नेपालमा लागू गर्न नसकेर अवसर खोज्न विदेशमा गएको हो । यदि नेपालमै त्यो अवस्था हुन्थ्यो भने कोहि पनि विदेश जादैनथ्यो होला । वास्तवमा विदेशमा बस्दा तनावको धेरै बोझ बोक्नुपर्छ । बाहिर बस्दा नेपाल धेरै सम्झिइने र माया गर्ने हुन्छन् । नेपालप्रतिको अभिभारा पूरा गर्न एनआरएनए स्थापना गरेको हो । परिवार, आफन्तसँग त सबैको सम्पर्क हुन्छ । तर, संस्थागत रुपमा देशसँग सम्पर्क गर्न व्यक्तिगत रुपमा सम्भव नभएकोले यो संस्थाको गठन भएको हो । जसरी देशभित्र समृद्ध नेपाल बनाउन नेपाली लागि परेका छन् त्यसमा हामी होस्टेमा हैँसो गर्न चाहन्छौं।
नेपाल सरकारको सहयोग नपाएको गुनासो बारम्बार आउँछ एनआरएनएबाट, खासमा नेपालका नेताहरु वा कर्मचारीतन्त्र अथवा अन्य कुनै शक्ति छ जो एनआरएनएलाई सकारात्मक दृष्टिबाट हेर्दैन ?
बाहिर बस्दा र नेपालमा यहाँको कर्मचारीतन्त्रसँग काम गर्दा चाँही फरक हुन्छ । बाहिर बस्दा सबै कुरा सिस्टममा चल्छ । पासपोर्टदेखि लिएर हरेक काम एउटा निवेदन लेखेपछि तयार हुन्छ । पटक–पटक यताउता धाइरहनुपर्दैन । नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा ब्यक्तिगत चिनजानको प्रयोग गर्नुपर्ने हुन्छ । नेपालको अहिलेको वास्तविकता यहि नै हो । तर, नेपाली जनता र नेताहरु एनआरएनएसँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने सोचमा छन् । एकाध ब्यक्ति छन् जसले फरक आवाज उठाएका छन् । तर, त्यसमा सत्यता छैन।
एनआरएनए विशेषगरी चुनावताका विभिन्न राजनितिक दलको भातृसंस्था जस्तो देखिन्छ, काठमाडौंमा भएको पछिल्लो सम्मेलन नै यसको उदाहरण हो । यस्तो कसरी भयो ?
यो संसारमा एनआरएनए जस्तो संस्था अर्काे छैन । संसारमा भएका २ सयभन्दा बढी देशका नागरिक पनि विदेश जान्छन् । तर, कुनै पनि देशले हाम्रो जस्तो संस्था, सञ्जाल एकत्रित भएर बनाउन सकेका छैनन् । यो नै एनआरएनएको सबैभन्दा ठूलो सम्पत्ति हो । यसर्थ यो संस्थाप्रति हरेक राजनीतिक दलको आकर्षण छ । यस्तो आकर्षित संस्थामा आफ्नो पार्टीका मान्छे घुसाउन खोज्नु राजनीतिक पार्टीको चाहना हुनु स्वभाविक नै हो । हाम्रो संस्थामा यस्ता कार्य नभएका हैनन्।
२०१९ को चुनावमा जुन राजनीतिक हस्तक्षेप भयो, हामीमध्ये केही साथीहरु चूनाव जित्न शरण लिन गयौं होला । त्यो गलत हो भनेर एनआरएनएले पनि बुझेको छ । राजनीतिक दलले पनि बुझेका छन् । राजनीतिक दलहरु एनआरएनएबाट टाढा रहोस् यसैमा एनआरएनए र देशको कल्याण छ । विदेशमा गएर पनि नेपालमा जस्तै विभिन्न पार्टीमा विभाजीत हुन थाल्यौं भने हामीले प्रगती गर्न सक्दैनौं । अब यी कुराहरुमा कमी आउँछ भन्नेमा हामी विश्वस्त छौं।
एनआरएनएको नेतृत्वमा पुग्न ‘भिजन’ कम पैसा र नेताहरुको आशिर्वाद आवश्यक छ भनिन्छ, यथार्थ के हो ?
नेतृत्वमा पुग्नका लागि सर्वप्रथम त्यो व्यक्तिले संस्था बुझेको हुनुपर्छ । ८२ देशमा फैलिएको एनआरएनएलाई हाँक्न सक्ने क्षमता र आँट आवश्यक हो । यसबाहेक अरु केहि पनि चाँहिदैन।
प्रसंग बदलौं, संसारभार कोभिड संक्रमण फैलिएपछि एनआरएनएले उद्धार पहिलो प्राथमिकता भने पनि काम कम हल्ला बढी भएको आरोपमा कति सत्यता छ ?
आरोप,आक्षेप भन्ने कुरा जे पनि लगाउन सकिन्छ । तर, वास्तविकता यस्तो छ, नेपालमा कोरोना सुरु हुनुभन्दा अगाडी विदेशमा सुरु भयो । ८० लाखभन्दा बढी नेपाली विदेशमा छन् । ५० भन्दा बढी देशमा नेपालीहरु संक्रमित भए । आजको दिनसम्म ३ सय ३४ जना नेपालीहरुको मृत्यु भैसकेको छ र ५० हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण फैलिएपछि संस्थाले तुरुन्तै उद्धार र राहत वितरणको काम सुरु गर्यो । संक्रमण बढेपछि दूतावास बन्द भयो । त्यो अवस्थामा एनआरएनएका साथीहरु झ्याल ढोका बन्द गरेर बसेनौं । यस्तै समय हो संस्थाको साथ सहयोग चाहिने भन्दै ५० देशमा एकैपटक २५ सय स्वंयसेवक परिचालन गर्याैं । यसरी विदेशमा एनआरएनए कहिल्यै पनि प्रस्तुत भएको थिएन।
कोभिडको बेला तपाईहरुले त्यस्तो के काम गर्नुभयो जसलाई सम्झिरहनुपर्ने हुन्छ ?
सुरुमा हामीले कोरोना सम्बन्धि जानकारी दिन संसारभरका चिकित्सकहरुसँग मिलेर स्वास्थ्य समिति बनायौं । जागीर गुमाएर बसेका, खानबस्न समस्या भएकालाई राहत वितरण गर्याै । सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका साथीहरु मर्कामा परे । कतिपय ठाउँमा कम्पनि बन्द भए । साहु भागे । बैंक करप्ट भए । पैसा माग्ने ठाउँ नै भएन । त्यस्तो अवस्थामा पुगेकाहरुलाई राहत वितरण सुरु गरियो । गर्भवति महिला, सुत्केरीलाई फिडिङको समस्या थियो । उनीहरुलाई सहयोग गरियो ।
थ्रीआर अर्थात रिलिफ, रिहाबिलिटि र रिपार्टेसनको कार्य विभाजन गरी काम सुरु गरेका थियौं । यो कार्यक्रमका लागि नेपाल सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको पैसा चलाउने कुरा गरेका थियौं । तर, केहि नियम कानून तुरुन्तै कार्यान्वयन गर्न गाह्रो भएका कारण नेपाल सरकारले निर्णय गर्न सकेन । त्यसपछि हामीले संघका साथीहरुबाट १२ करोड रुपैयाँ चन्दा उठाएर राहतका कार्यक्रम अघि बढाएको हो । आफ्नो स्रोतले नपुग्ने भएपछि आइओएम, आइएलओ लगायतका दातृ निकायबाट स्रोतहरु खोज्न थाल्यौं । सुरुमा आइएलओले ५ करोड सहयोग गरेको थियो । पछि हाम्रो कामको प्रशंसा गरेर फेरि ५ करोड थपिदियो । उक्त १० करोडले विभिन्न कार्यक्रम गरेका छौं।
मध्यपूर्वको नेपालीको उद्धार, सहयोग र समन्वयमा तपाई केन्द्रित हुनुहुन्छ,त्यही किन अनियमितताको आरोप लागिरहेको छ ?
हामी नेपालीहरु विश्वको जुनसुकै ठाउँमा गएपनि आफ्नो स्वभावसँगै बोकेर जान्छौं । हरेक राम्रो काममा केहि न केही आक्षेप लगाउने हाम्रो बानी छ । आक्षेप लगाउँदैमा त्यो प्रमाणित हुँदैन । दोष लगाउँदैमा दोषी प्रमाणित हुँदैन । सामाजिक सञ्जालमा आएका कुरालाई लिएर संस्थाको अन्र्तराष्ट्रिय समन्वय समितिले एउटा छानबिन समिति गठन गरेको छ । हरेक राष्ट्रिय समन्वय परिषदमा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ । ति छानबिन समितिले अनियमितता भएको रिपोर्ट दिएमा हामी कारबाही गर्न पछि पर्दैनौं ।
अहिले आएको लाञ्छनामा कसैले पनि आफ्नो धारणा नबनाउन म अनुरोध गर्दछु । आफ्नो ज्यानको बाजी राखेर काम गरि रहेका साथीहरुलाई मानमर्दन हुने काम नगरिदिन सबैमा अनुरोध छ । यो कार्यक्रम गर्दै गर्दा केहि साथीहरुले गरेका अनियमितता र श्रमशोषण बाहिर देखियो र त्यसलाई हामीले खुलेर विरोध गर्याै । त्यसकारण पनि ती साथीहरुले यो कार्यक्रमलाई असफल पार्न खोजिरहेका छन् । तर, सत्यता भने छानविन समितिले दिने रिपोर्टबाटै थाहा हुन्छ ।
एनआरएनएले टाढाको समस्या त देख्यो तर, नेपाल नजिकै भारत,बंगलादेश, माल्दिभ्सलगायतका मुलुकमा रहेका नेपालीहरुप्रति कोरोनाले गाँजेको समयमा किन अनुदार देखियो ? के यी देशहरुमा तपाईहरुको संस्थागत उपस्थिती नहुनु नै कारण हो ?
हामी अनुदार देखिएको पक्कै होइन । जहाँ नेपालीहरु संगठित भएर बसेका छन् । त्यहाँका नेपालीलाई समस्या भएन । एनआरएनएको परिचयमा नै सार्क देशभन्दा बाहिर बसेका देशमा मात्रै संगठन खोल्न पाइने भन्ने छ । सार्क बाहिर हाम्रो संगठन थियो, ती देशमा हाम्रो काम सुरु भयो । सार्क मुलुकमा हाम्रो संगठन नभएकोले ती देशमा हामीले उद्धारका काम गर्न सकेनौं । भारतको बोर्डरमा भएका केही ठूला समस्यामा भने भारतमा भएका संस्थासँग मिलेर काम गर्याैं । तर, अन्य देशमा जस्तो काम गर्न सकेनौं।
प्रसंग बदलौं, एनआरएनएभित्र चुनावी चहलपहल शुरु हुन थालेको देखिन्छ, तपाई केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । अब तपाइको गन्तव्य के हो ?
चुनावको बारेमा छलफल हुनु स्वभाविक नै हो । भरखरै मात्र हाम्रो साधारणसभा सकियो । सभामा पनि चुनाव अथवा महाधिवेशन तयारीका लागि विभिन्न विधान पारित भयो । र कुरा रह्यो मेरो आफ्नो । म २००९ देखि केन्द्रमा रहेर काम गरिरहेको छु । राष्ट्रिय समन्वयन परिषदमा त म २००३ देखि नै काम गरेको हो । २००७ देखि २००९ सम्म राष्ट्रिय समन्वयन परिषद रसियााको महासचिव थिए । त्यसपछि आइसीसीको सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेँ । त्यसैगरि दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वयन परिषद्को महासचिव भएको थिए । मैले अब काम गर्न बाँकी भनेको अब अध्यक्ष पद मात्रै हो। यसमा मेरो स्वभाविक दावी त रहन्छ नै।
एनआरएनएका वर्तमान अध्यक्षले नै निरन्तरताको चाहना राख्नुभयो भने तपाइँको महत्वाकांक्षको व्यवस्थापन कसरी होला ?
वर्तमान अध्यक्ष कुमार पन्तजीसँगको मेरो सहकार्य पहिलो होइन। एनआरएनए प्रवेश गरेदेखि नै हामी विभिन्न पदमा रहेर सँगै काम गर्दै आइरहेका छौं। एनआरएनएमा हामीले पदको लागि कहिल्यै रस्साकस्सी गरेनौं । अबको मेरो उम्मेदवारीका लागि उहाँले मलाई गाइड गरेर जानुहुन्छ । सहयोग गरेर जानुहुन्छ यसमा म विश्वस्त छु। यसमा पूर्व अध्यक्षहरुकाे पनि समर्थन रहनेछ ।