६ प्रिफेक्चरमा आपतकाल हटाउने जापानको तयारी

६ प्रिफेक्चरमा आपतकाल हटाउने जापानको तयारी

टोकियो । जापान सरकारले ६ ओटा प्रिफेक्चरमा कोरोना भाइरस नियन्त्रणका लागि लगाएको आपतकाल हटाउनेबारे सोचिरहेको छ । यसै महिनाको अन्त्यमा योबारे घोषणा गरिने स्रोतहरुको भनाइ उद्धृत गर्दै जापान टाइम्सले समाचार छापेको छ ।

यी ६ प्रिफेक्चरहरु ओसाका , क्योतो , ह्योगो , आइची , गिफु र फुकुओका भएको समचारमा उल्लेख छ । मंगलबार ओसाका , क्योतो र ह्योगो प्रिफेक्चरले केन्द्र सरकारलाई मार्च ७ मा आपतकालको म्याद सकिनु पूर्व नै आ–आफ्नो प्रिफेक्चरमा आपतकाल हटाउन अनुरोध गरेका थिए । टोकियो र आसपासका साइतामा , चिबा र खानागावा प्रिफेक्चरमा भने आपतकाल यथावत् रहनेछ।

राजधानीमा आपतकाल हटाउने विषयमा टोकियोकी गभर्नर युरिको कोइके सतर्क देखिएकी छिन् । टोकियोमा संक्रमणको अवस्था निरन्तर गम्भिर देखिएको छ । आफूहरु आपतकाल चाँडै हटाउन सक्ने अवस्थामा नरहेको महानगर सरकारको एक वरिष्ठ अधिकारीले बताए ।

प्रधानमन्त्री योशिहिदे सुगाले यस विषयमा छलफल गर्न अन्य सान्दर्भिक मन्त्रालयसँग बुधवार बैठक बोलाउँदैछन् । संक्रामक रोग तथा अन्य विज्ञहरुसँगको छलफलपछि यी ६ प्रिफेक्चरमा आपतकाल हटाउने सम्बन्धी औपचारिक निर्णय शुक्रबारसम्ममा गरिने स्रोतहरुको भनाइ छ । फुकुओका लगायत केही प्रिफेक्चरमा अस्पतालमा कोरोनाका बिरामीको अकुपेन्सी दर अझै पनि उच्च छ।

तर, नयाँ संक्रमितको संख्या क्रमिक रुपमा घटेर दोस्रो स्तरमा आएको छ । यो आपतकाल हटाउन केन्द्र सरकारले तोकेको मापदण्ड भन्दा राम्रो हो । अहिलेको अवस्थाले आपतकाल हटाउने निर्णयको औचित्य साबित गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । बुधबार १० प्रिफेक्चरमा कोरोना भाइरसको संक्रमणको अवस्थाको विश्लेषण गर्न सरकारले स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिको बैठक बोलाउँदैछ । ६ प्रिफेक्चरमा सुधार आएको पूष्टि भयो भने सरकारले आपतकाल हटाउने तयारी शुरु गर्नेछ ।

आफ्नो प्रिफेक्चरमा आपतकाल आगामी आइतबार हटाउन केन्द्र सरकारलाई अनुरोध गर्ने मंगलबार एक भिडियो कन्फ्रेन्समा ओसाका गभर्नर हिरोफुमी योशिमुरा, क्योतोका गभर्नर ताकातोशी निशिवाकी र ह्योगोका गभर्नर तोशिजो इदोले बताएका थिए ।

आइची प्रिफेक्चरल सरकारले यस अघि नै यस्तै खालको अनुरोध गरिसकेको छ । जापन सरकारले जनवरी ७ मा टोकियो र आसपासका तीन प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरेको थियो । पछि आपतकाल लम्ब्याएर मार्च ७ सम्म पुर्याइएको हो ।