एनआरएनए अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्षबीच भेट

एनआरएनए अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्षबीच भेट

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र धितो पत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाबीच भेट भएको छ । भेटमा गैरआवासीय नेपालीले स्थापना गर्न लागेको ‘एनआरएनए डभलपमेन्ट लिमिटेड फन्ट’  बारे छलफल भएको हो ।

अध्यक्ष पन्तले संघले गरेका प्रगति बारे अवगत गराएका छन् । संघका परामर्शदाता अनलराज भट्टराइले कम्पनी स्थापनामा बोर्डको तर्फबाट केहि कानूनी प्रावधान व्यवस्था गरिदिन अध्यक्ष ढुङ्गाना समक्ष अनुरोध गरेका थिए । यी व्यवस्थाहरुमा छिट्टै स्वीकृति प्राप्त भएमा गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउन सहज हुने र नेपालमा लगानी गर्न थप प्रेरणा मिल्ने उनले बताए । उनले कम्पनीको शेयर गैरआवासीय नेपालीमाझ छिटो आइपिओ मा लैजाने व्यवस्था गरिदिन र आइपिओ मार्फत प्राप्त हुने सम्पूर्ण रकम बराबरको शेयर जारीको अनुमति प्रदान गर्न समेत अनुरोध गरेका छन् । साथै शेयर आवेदन दिनका लागि डिम्याट खाताको व्यवस्था गर्न पहल भइरहेको जानकारी गराए ।

बोर्डका अध्यक्ष ढुङ्गानाले संघको योजनाले मुर्त रुप लिन लागेकोमा बधाई दिंदै धितो पत्र बोर्डको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यस योजनालाई ‘प्राइभेट इक्युटि भेन्चर क्यापिटल मोडल’ को रुपमा अघि बढाउँदा सहज हुने बारे संघलाई सुझाए । उनले धितो पत्र बोर्डको तर्फबाट गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्सहान गर्ने हर प्रकारकका स्कीम कार्यान्वयनमा ल्याईने जानकारी गराए । उदाहरण स्वरुप प्रवर्धक लगानीकर्ताका लागि तीन बर्षको लकडाउन समयलाई घटाउन सकिने वताए ।

उक्त भेटमा संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष डा। बद्री केसी, सोनाम लामा र रविना थापा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशक सहभागी थिए।