एनआरएनए साउदीको चेतावनी : आर्थिक घोटला प्रमाणित गरेर देखाउ

एनआरएनए साउदीको चेतावनी : आर्थिक घोटला प्रमाणित गरेर देखाउ

रियाद । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले आर्थिक घोटला गरेको प्रमाण देखाउन चुनौती दिएको छ । सामाजिक सञ्जाल तथा केही अनलाइनमा श्रमिक उद्धारको नाममा ठूलो आर्थिक घोटला गरेको भन्ने आरोप लगाइएपछि एनसीसी साउदीले आइतबार राति आकस्मिक पत्रकार सम्मलेनको आयोजना गरेर आपत्ति जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तेजबहादुर थापाले एनआरएनए साउदीको बदनाम गर्न गलत प्रचार गरिएको दावी गरे । आफूहरुप्रति भ्रामक आरोप लगाइएको उनको दावी छ । ‘साउदी अरबमा संचालित संघका परियोजनामा हामी निकै जिम्मेवार र पारदर्शी छाैँ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने,‘आरोप सप्रमाण पुष्टि गर्नुहोस्, हामी हदैसम्मको सजाय भोग्न तयार छौँ ।’

तथ्यहिन आरोपले सामाजिक अभियानमा लागेका अभियान्ताकोे मनोवल गिराउने भन्दै उनले दुःख समेत व्यक्त गरे । ‘एनसीसी साउदी अरबलाई जोडेर आएका मिथ्या खबरले आफ्नो जागिर गरि बचेको समयमा श्रमिकको सेवामा निस्वार्थ खटिरहेका हामी एनआरएनकर्मी मर्माहत भएका छौँ,’ थापाले चेतावनी दिँदै भने, ‘ कपोकल्पित रुपमा लगाइएका आरोप पुष्टि गर्न नसके हामी सरोकारवाला निकायसमक्ष पुगेर कानूनी उपचार खोज्छौँ ।’

साउदीका एनआरएनए प्रतिनिधिले तलव लिएको रसिद,भर्पाइ तथा परियोजनासँग सम्बन्धित रहेका अन्य तथ्य प्रमाणहरू भए आफूहरुसँग खुल्ला वहश गर्न आउन थापाले चुनौती दिए।

संघका कोषाध्यक्ष सन्तोष लुँइटेलले आधारहिन समाचार सम्प्रेषण गर्नेमाथि कारबाहीको माग गरेका छन् । गत १९ फ्रेब्रुवरीमा सम्पन्ने दशाैँ नियमित बैठकमा आफूले परियोजनासहित हालसम्मको सम्पूर्ण आर्थिक प्रतिबेदन प्रस्तुत गरेको र उक्त प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरिएको उनले बताए । एनसीसी साउदीको पारदर्शी विवरणलाई आइसीसीले समेत प्रशंसा गरेको उनको भनाइ छ। ‘हामी आर्थिक क्षेत्रमा एकदमै चुस्त र पारदर्शी छौँ । एक हलाला (एक पैसा) पनि हिनामिना भएको छैन्, उनले भने, ‘अफवाह फैलाउनेलाई हदैसम्मको कारवाही गरिनुपर्दछ ।’

त्यस्तै पूर्व अध्यक्ष नारायण पासवानले विश्वमै उदाहरणीय एनसीसीका रुपमा परिचित साउदी अरबलाई बदनाम गराउन केही समूह नियोजित ढंगले लागेको आरोप लगाएका छन् । ‘यहाँको एनसीसीले कोभिडको महामारीमा श्रमिकलाई विभिन्न तवरले सहयोग गर्दै आएको छ,’ पासवानले भने, ‘नेपाली दूतावास, विभिन्न संघ संस्थासँग हातेमालो गर्दै युद्ध स्तरमा पहल, पैरवी र समन्वयकारी भूमिका निभाएको एनसीसी साउदीमाथि आर्थिक दुरुपयोगको आरोप लगाइनु दुःखद छ । यो कुनै समूहले गरेको षड्यन्त्र हो ।’

पीडितलाई राहत, खाद्यान्न वितरण, स्वदेश फिर्ती,सेल्टरको व्यवस्था, आउटरिच क्याम्पिङमार्फत राहदानी सहजिकरण, पीसीआर टेस्ट तथा हवाई टिकट उपलब्ध गराउँदै निरन्तर मानवीय सेवामा लागिरहेको एनसीसी साउदीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्ने अधिकाशं प्रतिनिधिले आर्थिक घोटला भयो भन्ने विषयमा एक प्रतिशत पनि सत्यता नभएको बताए । उनीहरुले सञ्चारकर्मीलाई पत्रकारीताको धर्म निभाएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि अनुरोध गरेका छन्।