दुवै मिर्गौला गुमाएकी सृजनालाई आर्थिक सहाराको खाँचो

दुवै मिर्गौला गुमाएकी सृजनालाई आर्थिक सहाराको खाँचो

काठमाडौं । २५ वर्षीया सृजना घिमिरे शाक्य गत साउन महिनादेखि मिर्गाैलाको उपचार गर्दै आइरहेकी छिन् । ललितपुरको भैंसेपाटीस्थित मगर गाउँमा बस्दै आएकी उनको दुईवटै मिर्गाैलाले काम गर्न छोडेपछि बयोधा अस्पताल,बल्खुमा डायलोसिस गर्दै आइरहेकी छिन् ।

गत असारमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएकी उनी,दुई वर्षको दुबई बसाइपछि नेपाल फर्किएकी थिइन । घरपरिवार र आफ्नो प्यारी छोरीलाई भेट्न पाउँदा सारै खुशी थिइन् । तर, उनको यो खुशी धेरै दिन टिक्न सकेन । दुबईबाट फर्किएको केहि दिनमै खोकी लाग्ने,छाती दुख्ने समस्याले सताउन थाल्यो । धेरै दिनसम्म पनि निको नभएपछि स्वास्थ्य परिक्षणको लागि पाटन अस्पताल पुगिन् । कोरोनाको आशंका गर्दै अस्पतालले परिक्षण गर्न मानेन,घर फर्किइन् । समस्या झन बढ्न थालेपछि साउनको अन्तिममा उनी सानेपास्थित स्टार अस्पताल पुगिन् । अस्पतालको परिक्षणमा उनले कल्पनासम्म नगरेको नतिजा देखियो । दुइवटै मिर्गाैला खराब भएछ । अस्पतालको रिपोर्टप्रति उनलाई पत्यार नै लागेको थिएन । अस्पतालले जति सक्यो चाँडो डायलोसिस सुरु गर्दा राम्रो भन्दै उनलाई बयोधा अस्पताल बल्खुमा ट्रान्सफर गरिदियो।

भदौ महिनाबाट उनको डायलोसिस सुरु भयो । एकातिर ६ बर्षीया छोरीको लालनपालनको जिम्मेवारी अर्काेतिर आफ्नो दुवै मिर्गाैला खराब भएपछि मानसिक रुपमा विक्षिप्त बनेकी उनलाई आर्थिक अभावले सताउन थालेको छ । अस्पतालका अनुसार, परिवार वा अन्य कसैले मिर्गाैला दान गरेमा १० लाखसम्मको खर्चमा नेपालमै ट्रान्सप्लान्ट गर्न सकिन्छ । तर,अहिलेसम्म उनलाई मिर्गाैला दिने कोहि मिलेको छैन । नेपालमा सम्भव नदेखिएपछि भारत गएर मिर्गाैला फेर्ने सोचमा छिन् । तर २५ देखि ३० लाख रुपैयाँ कहाँबाट ल्याउने ? थाहा छैन उनलाई ।

श्रीमानसँगै भइदिएको भए आज यस्तो अवस्था नहुने भन्दै रुन्छिन् उनी । ४ वर्षअघि लिभर क्यान्सरले श्रीमान खोस्यो । अहिले उनको दुबै मिर्गौलाले काम गर्न छोडयो । जिन्दगीले दिएको बज्रपात सहँदा सहँदा थाकेकी उनलाइ जीवनदेखि विरक्त लागेको छ । तर श्रीमानसँग गरेको अन्तिम वाचा सम्झिदै आफूलाई सम्हाल्छिन् । ‘छोरी र मेरो ख्याल राख्छु,चिन्ता नलिनु भनेको ५ सेकेण्डमै उहाँले यो संसार छोडनु भएको थियो’ उनी बिगत सम्झिन्छिन् ।

श्रीमानको मृत्युपश्चात छोरीको जिम्मेवारी उनकै काँधमा आइपर्याे । श्रीमान बितेको ३ दिनमै दुधे छोरी र उनलाइ घरबाट निकालिएको कहालिलाग्दो पिडा अझै उनको मानसपटलमा ताजै छ । यो अवस्थामा श्रीमानको अभाव खड्किएको छ उनलाई । श्रीमानसँगको बिछोडसँगै बेघर भएकी उनी छोरी च्यापेर आमासँग बस्न थालेकी थिइन् ।

आर्थिक अभाव सुधार्ने र छोरीको उज्वल भविष्य सुनिश्चित गर्ने सोचले दुई वर्ष अघि उनी दुवइ पुगिन् । पासपोर्ट र नागरिकता पाउन १८ वर्षमै विवाह गरेको बाध्यता सुनाउँछिन् उनी । उनको आमा बुबा दुवैले दोस्रो विवाह गरेर छुट्टिएको हो । ‘आमाको नागरिकताबाट मेरो नागरिकता नबन्ने रहेछ, बुबाले तँ को हो म चिन्दिन मेरो कोही छोरी छैन भनेपछि नागरिकता बनाउनकै लागि मैले मेरो श्रीमानसँग विहे गरेकी थिए ।’ श्रीमानको माया र स्नेहले जति नै आर्थिक अभाव भएपनि खुशीको भने कमी थिएन । तर, माया गर्ने मान्छे नै उनीबाट छिट्टै टाढा भैदिए ।

दुबईमा कार्यालय सहयोगीको रुपमा काम गरेर कमाएको पैसाले नेपालमा छोरीको पढाइ र पालनपोषणलाई नै नपुग्ने, बचत त परको कुरा । दुबई बस्दा उनलाई न खाना मिठो भयो न पानी । अत्याधिक गर्मीले सास रोकिन्छ कि जस्तो लाग्थ्यो । तर धेरथोर भएपनि कमाउनुपर्ने बाध्यता थियो । छोरीको अनुहार हेरेपछि ती सबै पिडा भुल्थिन् । आखिर उसको सहारा छोरी अनि छोरीको सहारा उनी थिइन्।

दुई वर्षको समय सकाएर नेपाल फर्किएको केहि समयमै दुवै मिर्गाैलाले काम गर्न छोड्यो । अहिले उनी कमजोर शरीर, थकित मानसिकता बोकेर हप्तामा दुई पटक एक्लै डायलोसीस गर्न अस्पताल धाउँछिन् । उसको स्वास्थ्य अवस्था अनुसार अस्पतालको बेडमा आराम गर्दै उपचार गर्नुपर्ने हो । तर आर्थिक अवस्था कमजोर, घरपरिवारको साथ छैन । यता आमा सानो होटल चलाउँछिन् । उनकी सानी छोरी स्कुल जान्छिन् । दिनभरी कोठाभित्र ढोका लगाएर धुमधुम्ती बस्छिन् उनी । उपचार खर्च कसरी जुटाउने ? मिर्गाैला फेर्न कहाँबाट पैसा ल्याउने ?छोरीप्रतिको जिम्मेवारी कसरी पूरा गर्ने ? यस्तै सोचले सताउँछ उनलाई ।