१० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

१० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपाल सरकारले भारतसँग किनेको कोभिड १९ बिरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । एअर इण्डियाको विमानमार्फत आइतबार खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका छन् ।

गत बुधबार नेपाल र सेरम इन्स्टिच्युटबिच भएको सम्झौता अनुरुप २० लाख डोज ‘कोभिशिल्ड’ खोप मध्ये १० लाख डोज नेपाल ल्याइएको हो । बाँकी खोप स्वास्थ्य सेवा विभागले उत्पादक कम्पनीलाइ प्रस्ताव गर्ने तालिका अनुरुप ल्याइने प्रवक्ता अधिकारीले जनाए । आइतवार काठमाडौं आइपुगेको १० लाख डोज खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

यसअघि भारत सरकारले अनुदान स्वरूप १० लाख डोज ‘कोभिशिल्ड’ उपलब्ध गराएको थियो । उक्त खोप प्रयोग गरी नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरिएको छ । आगामी फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने जनाएको छ ।

आज भारतबाट ल्याइएको खोप पहिलाको जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. झलक शर्मा गौतमले बताए।