गाँजा जलाएर फर्केका प्रहरीमाथि हातपात, दुई राउण्ड हवाइ फायर

गाँजा जलाएर फर्केका प्रहरीमाथि हातपात, दुई राउण्ड हवाइ फायर

काठमाडौं । मकवानपुरमा प्रहरीको टोलीमाथि आक्रमण भएको छ । मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
प्रहरीको काम कारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाइ राखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ । यसैबीच राक्सिराङ–१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।