गैरकानूनी आप्रवासीप्रति उदार बन्दै जापान

गैरकानूनी आप्रवासीप्रति उदार बन्दै जापान

टोकियो । निर्वासन आदेश विपरित जापानमै बस्दा अध्यागमन हिरासममा पुगेका विदेशी नागरिकलाई परिवारको साथमा बस्न दिने तयारी गरिएको छ।

आप्रवासन सम्वन्धी कानूनमा व्यापक संशोधन गर्न लागेको जापानले निर्वाचन आदेश प्राप्त गरेका विदेशीलाई परिवारको साथमा बस्न दिन लागेको हो।

निर्वासन आदेश अनुसार देश छाड्न अस्वीकार गर्दा सरकारी हिरासत गृहमा पुगेका बन्दी विदेशीको संख्या वृद्धिको समस्यालाई समाधान गर्न सरकारले कानून संशोधन मस्यौदा तयार पारेको छ।

गत शुक्रबार तयार मस्यौदा अनुसार निश्चित सर्त पालना गर्ने लिखित प्रतिबद्धता जनाउने बन्दीलाई उनीहरुको देश फर्कने समयसम्म जापानमै रहेका परिवार वा जिम्मेवारी लिने व्यक्तिको साथमा बस्न दिइनेछ । यसमा उनीहरु फरार हुने आधार नरहेका व्यक्तिहरु समेत शर्तको रुपमा राखिएको छ ।

मस्यौदामा अर्को महत्वपूर्ण प्रावधान समेत समेटिएको छ । जसले हिरासतमा परेर आफ्नो देश फर्किएकाहरु छिट्टै जापान आउने बाटो खुला गरेको छ । मस्यौदा अनुसार निर्वासित विदेशी आफ्नो खर्चमा स्वदेश फर्किएमा उसको जापान प्रवेश सहज बनाइने छ।

हालसम्म यसरी स्वदेश फर्किएका विदेशीको पुन प्रवेश प्रतिबन्धको अवधि ५ वर्ष रहेकोमा यसलाई एक वर्षमा सिमित गरिएको छ । अर्थात् एक वर्ष पुरा भएपछि उनीहरु सम्वन्धित देशका अन्य नागरिक सरह प्रक्रिया पुरा गरेर पुनः जापान आउन पाउनेछन्।

जापान सरकारले जारी संसद बैठकमा प्रस्तावित संशोधन कानून मस्यौदालाई यसै महिना प्रस्तुत गर्ने तयारी गरिरहेको छ।योजना अनुसार संसदबाट पारित भएमा यसै वर्षको मध्यबाट संशोधित कानूनलाई कार्यान्वयनमा ल्याउने लक्ष्य जापान सरकारले राखेको छ ।