एनआरएनए यूएई अध्यक्ष कोइराला भन्छन्–मैले एक पैसा पनि हिनामिना गरेको छैन

एनआरएनए यूएई अध्यक्ष कोइराला भन्छन्–मैले एक पैसा पनि हिनामिना गरेको छैन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष प्रकाश कोइरालाले यूएईबाट श्रमिक उद्धार गर्दा सामाजिक सञ्जालको दुरुपयोग गरी केही ब्यक्तिले आफूमाथि अनियमितता गरेको आरोप लगाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले श्रमिक उद्धारको लागि भएको सम्पूर्ण खर्च विवरण पारदर्शि रहेको दावी गरेका छन्।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत,व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। यही कार्यक्रममार्फत नै यूएईबाट अलपत्र श्रमिकलाई हवाइ टिकटको व्यवस्था मिलाएर स्वदेश ल्याइएको थियो । त्यस्तै घर फर्काउने वातावरण नमिल्दासम्म यूएईमै खानाको पनि व्यवस्था गरिएको थियो।

संघको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) ले गरेको उद्धार प्रक्रियामा आफूले समन्वयात्मक भूमिका मात्रै निर्वाह गरेको उनको भनाइ छ । सबै काम आइसीसीको उद्धार तथा व्यवस्थापन टिमसँग समन्वय गरेर भएको बताउँदै कोइरालाले केही समूहले बदनाम गर्ने मनसायले आर्थिक घोटाला भएको भन्दै गलत हल्ला फैलाएको दावी गरे।

‘सामाजिक सेवामा लागेको मान्छे हुँ । मैले इमान्दारीका साथ काम गरेको छु, त्यसैले मलाई कुनै डर छैन,’ उनले शनिवार प्रवास खबरसँग भने,‘म व्यक्तिगत फाइदाका लागि एनआरएनए अभियानमा लागेको होइन । यहाँ राम्रो पदमा जागिर गर्छु, कमाइ राम्रै छ । नेपालमा विभिन्न क्षेत्रमा लगानी छ । आफ्नै व्यवसाय पनि छ ।’

‘अलपत्र परेका श्रमिकलाई उद्धार गर्न पठाइएको पैसामा आँखा लगाउनु पर्ने मेरो अवस्था हो भन्ने तपाईलाई लाग्छ ?’ कोइरालाको प्रश्न थियो । एनआरएनए यूएईको अध्यक्ष भइसकेपछि संस्थागत सुधार तथा सामाजिक सेवामा कोइराला र उनको टिमले खेलेको भूमिकाको प्रशंसा पनि हुदै आएको हो । तर, अकस्मात उनीमाथि अनियमितताको आरोप लागेको छ । किन यसो भयो ? जवाफमा कोइरालाले भने,‘राम्रो काम गर्ने व्यक्तिलाई हिलो छ्याप्नै पर्छ भन्ने नेपाली मानसिकताको उदाहरण हो यो,राम्रो काम गर्नेलाई विभिन्न बाहनामा दुःख दिने गरेको सुनिन्थ्यो,अहिले मेरो हकमा पनि भएको यही हो ।’ कोइरालाको प्रश्न थियो,‘खाएको विष पो लाग्छ । नखाएको विष लाग्छ र ?’

अहिलेसम्म आफूले कमाएको सामाजिक प्रतिष्ठा र आफ्नो करियर नै खत्तम पार्न केही समूहले चलखेल गरिरहेको कोइरालाको ठम्याइ छ । भन्छन्,‘ममाथि आरोप लगाएर केही तत्वहरु आइसीसीको अधिवेशन नजिकिदै गर्दा यसैलाई मुद्दा बनाउने षड्यन्त्रमा सहभागी भएको मैले बुझेको छु।’

कोभिड संक्रमणका कारण आफू लामो समय थलिएका कारण प्रष्टिकरण दिन ढिलाइ भएको कोइरालाको भनाइ छ । संस्थाका कतिपय कुराहरु गोप्य हुने भएकोले आफूले जोसुकैलाई जवाफ दिन आवश्यक नभएकोले सम्बन्धित निकायमा आफ्नो कुरा राख्ने उनको भनाइ छ।

उद्धार प्रक्रियामा ठूलो आर्थिक घोटाला भएको भन्दै यूूएईलगायत एनआरएनए मध्यपूर्वमा विभिन्न व्यक्तिले सामाजिक सञ्जालमार्फत श्रमिक उद्धारमा एनआरएनए यूएईका अध्यक्ष कोइराला र उपाध्यक्ष पासाङ मिलेर आर्थिक घोटाला भएको टिप्पणी गर्दै आएका छन् । सामाजिक सञ्जालमा आरोप व्यापक भएपछि एनआरएनए आइसीसीले यस विषयमा अध्ययन गर्न छानविन समिति समेत गठन गरेको छ।

एनआरएनए अध्यक्ष कुमार पन्तले अनिमियतता भएको भन्ने आरोप बाहिर आएपछि छानविन समिति गठन गरिएको प्रवास खबरलाई बताए । ‘आर्थिक अनियमितता भयो भन्ने कुराहरु आएपछि हाम्रो ध्यानाकर्षण भएको छ । यसैले छानविन समिति गठन गरेका छौँ,’ पन्तले भने, ‘यसबारेमा अहिले नै केही भन्न मिल्दैन । सामाजिक सञ्जालमार्फत आएका कुरामा भर पर्ने कुरा पनि भएन । यथार्थ फरक पनि हुनसक्छ । यदि कोही कसैबाट गल्ती भएको रहेछ भने हामी कारवाही गछौँ ।’