नेपालीलगायत विदेशीमाथि कुवेतले लगाएको प्रतिवन्ध फुकुवा

नेपालीलगायत विदेशीमाथि कुवेतले लगाएको प्रतिवन्ध फुकुवा

कुवेत । गत ४ फेब्रवरीदेखि विदेशी नागरिकलाई कुवेत प्रवेशमा लगाएको दोस्रो पटकको प्रतिबन्ध हटेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै कुवेत सरकारले दुई साताका लागि विदेशीको आगमनमा रोक लगाएको थियो।

कुवेत सरकारले २१ फेब्रवरीदेखि सिधा उडानमार्फत कुवेत आउन सकिने व्यवस्था गरेको छ । कुवेत आएका कामदारले १४ दिन आफ्नै खर्चमा संस्थागत क्वारेन्टाइनमा बस्नुपर्ने अरब टाइम्सले समाचारमा उल्लेख गरेको छ । साथै कुवेतमा गरिने २ पटकको पीसीआर परीक्षण खर्च पनि कामदार आफैले व्यहोर्नुपर्ने उल्लेख छ । कुवेतमा आउने कामदारलगायत सबै यात्रुले ‘कुवेत मोसाफर एप’ मा दर्ता भएको हुनुपर्नेछ।

कुवेत आउने यात्रुले मोसाफर एपमार्फत अनलाइन भूक्तानी गर्नुपर्ने प्रावधान रहेको छ । पीसीआर परीक्षण गर्ने, क्वारेन्टाइनमा बस्नेलगायत खर्च उक्त एपबाट भूक्तान गर्न सकिनेछ । कुवेत सरकारले कुवेत आउने यात्रुका लागि तीन तारे, चार तारे र पाँच तारे होटलमा क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

प्रतिबन्ध लगायका देशबाट आउने यात्रुले १४ दिन र प्रतिबन्ध नलगाएका देशबाट आएकाले आफ्नै खर्चमा अनिवार्य ७ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेको छ ।

कुवेत पुगेका यात्रुले मोसाफर एप वा बेलसलामाह एपमार्फत सबै प्रकारका भुक्तानीहरु गर्न सक्नेछन् ।

कोभिड–१९ को महामारी बढेसँगै कुवेतले नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका लगायतका ३५ देशबाट सिधा उडानमा आउने यात्रुलाई पहिलो चरणमा रोक लगाएको थियो ।