बहराइन आउने नेपालीले तीन पटकसम्म पीसीआर गर्नुपर्ने

बहराइन आउने नेपालीले तीन पटकसम्म पीसीआर गर्नुपर्ने

मान्मा । रोजगारीका लागि बहराइन आउने नेपालीले तीनपटकसम्म पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । यसअघि दुईपटक मात्रै पीसीआर गरे पुग्थ्यो।

बहराइनस्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई दृष्टिगत गर्दै यहाँको सरकारले आफ्नो देशमा आउनेका लागि पीसीआर परीक्षणको दायरा बढाएको हो । जसअनुसार थप एउटा पीसीआर अनिवार्य गरिएको छ।

आगामी २२ फेब्रुवरीदेखि लागू हुने गरि एउटा पीसीआर परीक्षण थप गरिएको दूतावासले जनाएकाे छ । नयाँ नियमअनुसार बहराइन आउने नेपालीलगायत विदेशीले पहिलो पटक विमानस्थलमै परीक्षण गर्नुपर्नेछ । त्यस्तै दोस्रो पटक पाँच दिनपछि पीसीआर गर्नुपर्नेछ । त्यसैगरि तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण अनिवार्य गरिएको छ । यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक हुनेछैन्।

बहराइन विमानस्थलमा प्रवेश गर्नेबित्तिकै ‘बीवेयर बहराइन’ नामक डिजिटल एप आफ्नो मोवाइलमा डाउनलोड गर्नुपर्नेछ । त्यसैगरि विमानस्थलमा गरिएको पहिलो पीसीआर रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोलेट’ हुनुपर्नेछ । संक्रमण पुष्टि भएमा स्वास्थ्य मन्त्रालयले सम्पर्क गर्नेछ ।