अष्ट्रेलियामा फेसबुकको नयाँ कदमबारे के भन्छन् यहाँ रहेका नेपाली ?

अष्ट्रेलियामा फेसबुकको नयाँ कदमबारे के भन्छन् यहाँ रहेका नेपाली ?

सिड्नी। सामाजिक संजाल फेसबुकबाट समाचार प्रकाशित गर्न अष्ट्रेलियाले रोक लगाएको छ । यस्तो निर्णयले त्यहाँ रहेका नेपालीलाई पनि प्रभाव पर्ने देखिएको छ । अष्ट्रेलियामा २५ लाख जनसंख्यामध्ये करिब १७ लाख जनसंख्या सामाजिक संजाल फेसबुकमा आबद्ध रहेका छन् ।

मेर्लवनका पत्रकार तथा नेपाली महावाणिज्य दूतको कार्यालयमा कार्यरत निरु त्रिपाठीका अनुसार फेसबुकको यो कदमले दक्षिण एसिया अथवा नेपालीलाई मात्र नभई पुरै अष्ट्रेलियालाई नै असर गर्ने छ।

त्रिपाठीका अनुसार,अहिलेको समयमा फेसबुकको यति प्रयोग हुन्छ कि एक अर्कालाई फोटो ट्याग गर्नेदेखि लिएर नयाँ समाचार शेयर गर्न पनि फेसबुककै प्रयोग हुन्छ । अब यहाँको सरकार र फेसबुकको सहकार्य हुनुपर्दछ । अष्ट्रेलियाकै वेबसाइटबाट प्रकाशित न्युज मात्र शेयर गर्न नपाउने तर लिंक भने शेयर गर्न पाइने छ । ‘समाचार शेयर गर्न नमिल्ने हुनाले समाचारलाई स्टाटसमार्फत लेख्नुपर्ने छ’,त्रिपाठी भन्छिन्।

प्रविधिको विकाससँगसँगै सामाजिक संजालको महत्व पनि बढिरहेको छ । यसमा फेसबुक अझ प्रभावकारी र प्रभावशाली रहेको छ । सिड्नीमा पत्रकारिता गरिरहेका हेमन्त काफ्लेका अनुसार,प्रवासमा रहेर सामाजिक पत्रकारिता गर्ने नेपाली पत्रकारको लागि एक उपयुक्त माध्यम फेसबुक हो । फेसबुकबाट शेयर गरिएको न्युज हेर्न र पढ्न कुनै पनि साइट डाउनलोड गर्नु नपर्ने भएकोले फेसबुकमा राखिएको समाचार धेरैसामु पुग्छ । ‘अष्ट्रेलियाले गरेको यो प्रतिबन्धले हामीलाई पनि ठूलो मार पर्छ,’ काफ्ले भन्छन,‘हामी पत्रकारका लागि पनि यो सरोकारको विषय हो ।’

फेसबुकप्रति प्रयोगकर्ताको विश्वास धेरै छ । फेसबुकले अनपेक्षित रुपमा आउने पोस्टलाई हटाउदैँ आएको छ।

प्रकोप वा विपत्तिको समयमा पत्रकारिताको भूमिकाबारे विद्यावारिधि गरेका पत्रकार भरतराज पन्तका अनुसार,अन्य देशले पनि अष्ट्रेलियाको सिको गर्छन् भन्ने डरले संसदबाट नियम पास नभई फेसबुकले बन्द गराएको छ । तर, बिस्तारै खुलाइएको भएतापनि समाचार शेयर गर्न भने दिइएको छैन । ‘यो सबै प्रकरणका पछाडि यहाँको लेभर पार्टीको हात रहेको छ,पत्रकारीता क्षेत्रले आवाज उठाउनुपर्छ’ पन्त भन्छन,‘तर यसले विशेषगरी साना मिडियालाई भने ठूलो असर भने गर्दैन ।’

एसबीएस रेडियोमा कुराकानीमा आधारित