हामीले जे सपना देखेका थियौं,अहिले त्यो पूरा हुने चरणमा छ : संस्थापक अध्यक्ष डा. महतो

हामीले जे सपना देखेका थियौं,अहिले त्यो पूरा हुने चरणमा छ : संस्थापक अध्यक्ष डा. महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ।

यो कोषमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीलाई लगानीका लागि आइपीओ जारी गरिनेछ । १० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको संघले जनाएको छ । थप संस्थापकको १० प्रतिशतले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । बाँकी रकम विदेशमा आइपिओ जारी गरेर संकलन गर्ने तयारी छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने संघले जनाएको छ।

स्थापनाको अन्तिम चरणमा रहेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर समेत भएको छ । बिहीवार काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन्।

बिहिवारको उक्त कार्यक्रममा मन्तब्य राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफूहरुले देखेको सपना अहिले पूरा हुने चरणमा रहेको बताएका छन्।

मन्तब्यको सम्पादित अंश :

२००३ मा हामीले रोपेको बोटको फल अहिले देखिन लागेको छ । अब छोटो समयमै नेपाली जनताले पाकेको फल खान पाउनेछन्।

हामीले जुन बेला नेपालमा विदेशबाट सामूहिक लगानीको कुरा गरेका थियौं त्यतिबेला हामीमध्येकै केही साथीहरुले यस्तो पनि समय आउला र भन्ने सोच्थे । साथीहरु यसरी सशंकित हुनु स्वभाविक पनि थियो । किनभने त्यो बेलाको गैरआवासीय नेपाली अभियानमा हामी आफ्नै व्यवसायमा लागेका थियौं । नेपालमा लगानी गर्दा कति सफल हुन्छौं र कति लगानी गर्न सक्छौं भन्ने द्घिविधामा थियौँ।

कुनै पनि देशमा जबसम्म त्यहाँका नागरिकले स–सानो रुपमा सामूहिक लगानी गरि व्यवसाय शुरु गर्दैनन् तबसम्म त्यो देशको सम्बृद्धि हुँदैन । आज विदेश बस्ने नेपालीले पनि सानो रकम भएपनि लगानीमा आफ्नो सहभागीता देखाउन सक्ने भएका छन् । त्यसका लागि व्यक्तिगत रुपमा एउटा समस्या पार गर्दै ठूलो चुनौतीका साथ आफ्नो व्यक्तिगत लगानी गरेर पनि विदेशमा बस्नेहरुको अगाडी स्वदेशमा पनि लगानी गर्न सकिने रहेछ आज प्रमाणित भएको छ । यसरी लगानी गर्दा सानै भएपनि प्रतिफल लिन सकिने रहेछ भन्ने आज देखिएको छ। यसमा संघका अध्यक्ष कुमार पन्त लगायत साथीहरुले विश्वासको वातावरण बनाइदिनुभएमा उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ ।  आभार प्रकट गर्न चाहन्छु।

आज हाम्रो सपना पूरा हुने बाटोमा अघि बढिरहेको छ । सानोभन्दा सानो लगानीकर्ताले लगानी गर्न र अगाडी बढ्न सक्ने वातावरण सिर्जना भएको छ। त्यसमा पनि विशेष गरेर वैदेशिक रोजगारीमा रहेका साथीहरुले मन खोलेर आफ्नो देशमा लगानी गर्ने परिस्थिती सिर्जना भएको छ। यसैले तपाईहरु कोही पनि लगानी गर्न पछाडि नहटनुहोला।

नेपालमा १० अर्बको यो पहिलो ठूलो प्रोजेक्ट हो । र, यो अनौठो किसिमको प्रोजेक्ट पनि हो । जसरी गैरआवासीय संघ दर्ता गर्दा नेपालमा केही ठूलो प्रोजेक्ट ल्याउनु भन्ने सुझाव धेरैतिरबाट आएको थियो । त्यही सुझाव अहिले कार्यान्वयन हुने क्रममा छ । यो यस्तो आइपीओ हो,जुन इतिहासमै पहिलो पटक नेपालमा नभई विदेशमा बस्ने नेपालीहरुका लागि जारी हुन लागेको छ । हामीले जे सपना बोकेका थियौं,अहिले त्यो पूरा हुने चरणमा छ।

बाहिर पनि एउटा नेपाल छ । त्यो नेपालमा आर्थिक रुपमा प्रवेश गर्नका लागि पहिलोपटक बाटो खुल्दैछ । यसमा म नेपाल सरकार र सरोकारवाला निकायलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । यसैपनि यो नयाँ कुरा हो । यो प्रोजेक्टले सफलता पाएमा सरकारका लागि अरु धेरै बाटोहरु पनि खुल्ने छ।

म आजको दिनमा संघका अध्यक्ष कुमार पन्तलाई विशेष धन्यवाद दिन चाहन्छु । किनभने उहाँले जसरी पनि यो काम म पूरा गरेरै छोड्छु भनेर अथक प्रयास गर्नुभयो। यसमा अरु धेरै साथीहरुले पनि साथ दिनुभयो । संघको सम्पूर्ण टिमलाई नै धन्यवाद छ।

नेपाल आमाको मुहारमा मुस्कान त छँदै छ। अब यो मुस्कानलाई निरन्तरता दिन १० अर्बको यो प्रोजेक्टले गेम चेन्जरको भूमिका खेल्नु पर्नेछ।