श्रमिकको उद्धारलाई लिएर अतिरन्जित नगरियोस् : प्रवक्ता क्षेत्री
आर्थिक अनियमितता प्रमाणित भए छोडैनौँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले आर्थिक अनियमितताको आरोप लागेको एनसीसी यूएईको विषयमा स्पष्टिकरण दिएका छन् । कोरोना माहामारीका कारण यूएईमा अलपत्र श्रमिकको उद्धारका विषयलाई विभिन्न व्यक्तिले सामाजिक संजालमार्फत अतिरन्जित गरिएको भन्दै त्यसप्रति संघको ध्यानाकर्षण भएको प्रवक्ता क्षेत्रीले बताएका छन् ।
‘अहिले यूएईबाट श्रमिक उद्धारको विषयलाई लिएर सामाजिक सञ्जालमा जुन किसिमका कुराहरु आएका छन् । ती सबै उत्तेजना फैलाउने र अतिरञ्जित गर्ने किसिमले गरिएको छ,’ प्रवक्ता क्षेत्रीले मस्कटबाट टेलिफोनमा प्रवास खवरसँग भने, ‘यदि कोही कसैबाट त्यस्ता किसिमका गल्ती भएका रहेछन् भने कसैलाई पनि बचाउने पक्षमा हामी छैनौँ । गल्ती गर्ने जो कोही भए पनि सजायको भागिदार हुनुपर्छ ।’ संघमा अनुशासन र आचारसंहितालाई सबैले पालना गर्नुपर्ने क्षेत्रीको भनाइ छ ।
एनसीसी यूएईलाई जोडेर सिंगो मध्यपूर्व एनआरएनएमा आँच आउने काम गरिएको भन्दै उनले त्यसो नर्गन आग्रह समेत गरेका छन् । यूएईलाई जोडेर बाहिर आएका विषयमा छानवीन समेत भइरहेकोले धैर्य रहन क्षेत्रीकाे अनुराेध छ । ‘जसरी आर्थिक अनियमितता भएको भन्ने कुराहरु बाहिर आएका छन्, त्यस विषयमा छानवीन पनि सुरु भइसकेको छ । यदि साँच्चिकै त्यसो भएको रहेछ भने जो कोहीलाई पनि कारवाही हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने , ‘तर, सामाजिक सञ्जाललाई प्रयोग गरेर प्रमाणित भइनसकेको विषयलाई उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरन्जित तवरमा कोही, कसैका बारेमा अनावश्यक टिका टिप्पणी गर्नुहुँदैन् ।’ श्रमिक उद्धारको लागि भएको सम्पूर्ण खर्च विवरण काठमाडौंमा रहेको उद्धार तथा व्यवस्थापन टिमले पारदर्शि रुपमा राखेको पनि उनले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार कोभिड–१९ को महामारीपछि संघले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । मध्यपूर्वमा रहेका नेपाली श्रमिकको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको उनको भनाइ छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएको उनले बताए ।
विदेशमा रहेका नेपालीहरुको उद्धार प्रकृया अझै जारी रहेकोले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेला आग्रह पूर्वाग्रहका आधारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको उनको दावी छ।
ताजा अपडेट

विश्वभरका नेपाली सेफ काठमाडौँमा
