…अनि कुमार त कुवेर भए

…अनि कुमार त कुवेर भए

भन्छन् नी,‘एउटा सफल पुरुषको पछाडी महिलाको हात हुन्छ ।’ के कुमार पन्त पनि यस्तै ठान्छन ?

हजुर !  हामी उनै कुमार पन्तको कुरा गर्दै छौ,जसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व गरिरहेका छन्। नाम कुमार भए पनि ४४ वर्षीय उनी विवाहित हुन। र, प्रसङ्ग प्रणय दिवसको। यो भर्खर बिदा भएको छ । कुमारले पनि प्रेम गरे, अनि जसलाई प्रेम गरे उसैको सिउँदो सजाय । कुमारकी जीवन संगीनीले ७/८ महिनाको आपसी प्रेमलाई विवाहमा रुपान्तरित गर्ने चाह देखाइन । त्यसबेला जर्मनीमा संघर्षको कठिन चरणमा थिए, कुमार । आफ्नै आन्टिको बहिनीको छोरी । पेशाले नर्स थिइन उनी । सायद कुमारलाई लाग्यो होला,मायाको चक्की खुवाउनेछिन । मायाको त्यही चक्कीलाई उर्जा मानेर जीवनमा प्रगती गर्छु भन्ने सोचे सायद कुमारले । जर्मनीबाट फर्किएपछिको तीन महिने नेपाल बसाइमा दुवैले आफ्नो प्रेमलाई बिहेको गन्तब्यमा पुर्याए। यसको आठ महिनापछि श्रीमती बञ्जना जर्मनी पुगिन । श्रीमानको सहारा बन्न।

ठूलो छोरी १२ र सानो छोरा १० वर्षको । पन्त दम्पत्तिको मायाको चिनो । सकेसम्म वर्षमा एक पटक परिवारसहित नेपाल आउँछन् । देशको माटोको बासना सुँघेर औधी रमाउँछन् । नेपालप्रति चासो राख्छन् । पन्त दम्पत्ति पनि सन्तानलाई आफ्नो जरो चिनाउन र यसलाई माया गर्न प्रेरित गरिरहन्छन्।

पन्त दम्पत्ति

एनआरएनएको अध्यक्षको परिचयमात्र पर्याप्त छैन,कुमारका लागि । विदेशी भूमिमा एक सफल नेपाली ब्यवसायी पनि हुन । अर्थात दुबै हातमा लड्डु । सफलताको यो उचाईमा पुग्नुको पछाडि कुन मन्त्रले काम गर्यो ? कुमारलाई सोधियो । उनीसित जवाफ हाजिर थियो । ‘श्रीमतीको आड, भरोसा र हौसलाकै कारण आज म यो ठाउँमा आइपुगेको छु,’ कुमार भन्दै थिए,‘ बुझ्ने श्रीमती भयो भने जो कोहि पुरुष सफल हुन सक्छ ।’

यसैले त यो कुमार–कथामा प्रारम्भमै भनियो,‘हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ ।’

यस्तो किन भनियो होला ? कुमारलाई सोधियो । उनले पहेली पहिल्याए । ‘बाहिरी कामको बोझले जति नै मानसिक तनाव भएपनि घर पुग्दा शान्ती मिल्ने वातावरण श्रीमतीले नै बनाइदिन सक्छिन,’ कुमार खुल्दै गए,‘घरपरिवार, छोराछोरीको राम्रो हेरचाह अनि कामको व्यस्तताले परिवारलाई चाहेजति समय दिन नसकेको कुरा बुझिदिने श्रीमती भएपछि कुरै अर्को ।’

हरेक सफल महिलाको पछाडि पुरुषको हात हुन्छ कि नाइ ? कुमारसँग नसोधिएको प्रश्न थियो यो ।

पत्नीमा सेवा भाव पनि भएकोले कुमारलाई समाजसँग जोडिन सहज भएको छ । उनका अनुसार श्रीमती भन्ने गर्छिन,‘मानिसले आफ्नो लागि मात्र होइन अरुका लागि पनि केही न केही गर्नुपर्छ ।’ यही प्रेरणाको बलले होला,कुमार पैसा उत्पादनमा मात्र लागेका छैनन,देश–विदेशमा रहेका नेपालीका लागि पनि केही न केही गरिरहेकै छन्।

भदौ २०३३ । गोरखा । कुरा बुझियो । यो मितिमा गोरखा मुकाम बनाएर कुमारको धर्ती आगमन भयो । गोरखाको धुलोमाटोमा हुर्किए । २०४९ मा यहीँको श्री भैरव आश्रम विद्यालयबाट एसएलसीको फलामे साङ्लो तोडे । पढाइमा अब्बल जो थिए । आफ्ना अग्रजहरुको देखासिकी गर्दै २०५० मा गोरखाबाट काठमाडौं हानिए । रत्नराज्य क्याम्पसमा पत्रकारिता लिएर पढाइको गति बढाए । अध्ययनकै क्रममा दृष्टि साप्ताहिकमा पत्रकारिताको कखरा सिक्न थाले।

सामान्य परिवार, बुवा शिक्षक घरमा तीन दाजुभाई । जेठो दाजु नीजि बोर्डिङ स्कुलमा पढाउँछन् । कान्छो भाइ कृषिमा विद्यावारिधि गरेर किर्तिपुरमा अध्यापन गराउँछन् । सायद उनले काठमाडौंमा पत्रकार भएर केही लछारपाटो नहुने देखे । यसैले स्नातक तह अध्ययनकै क्रममा उनी ग्रीस पुगे । यो पहिलो विदेश यात्रा थियो । तर ‘सोचे झैँ रहिनछ जीवन’ भन्ने उनले यहीँबाट बुझ्न थाले । २०५५ मा एक हजार डलर बोकेर ग्रीस पढ्न हिँडेको गोर्खाली ठिटो,पैसा पुगेन । न काम गरेर पैसा कमाउन सकियो न त पढ्न नै । घरबाट पैसा मगाएर पढ्न सक्ने आर्थिक हैसियतमा पनि थिएन,गोरखाको पन्त परिवार । यसैले उनले ‘गाउँ फर्क अभियान’ टाइपको मुड बनाए । धन्यवाद उनका आफन्त,जसले उनलाई जर्मनी बोलाए।

पन्त परिवार

अनि बाटो मोडियो । जर्मनीले उनलाई सफलताको बाटो देखायो।

जीवनमा हण्डर खाने भनेको के हो ? प्रारम्भिक दिनमा उनले यहीँबाट थाहा पाए । ग्रीसबाट जर्मनी जान खुला सिमाना थिएन,त्यसबेला । विमान नै समात्नुपर्ने । उनले पनि त्यसै गरे । जर्मनीको एयरपोर्टमा पासपोर्ट नदेखाई आफूलाई शरणार्थी हैसियतमा पेस गरे । लौ,तीन दिनसम्म उनी एयरपोर्टमै बस्न बाध्य भएछन्,त्यो पनि शरणार्थीको परिचयमा । जसै एयरपोर्र्टबाट बाहिर निस्किने अनुमति पाए,त्यसपछि भाँडा मस्काउनेदेखि चर्पी टल्काउने सम्मको काम उनले गरे । के गरेनन कुमारले ? होटल व्वाय बने अनि होटलका कोठाहरुका ओछ्यान मिलाउनेसम्मको काम गरे । यसबीच नेपालमा लिएको पैँचो तिरे । खासमा उनी पढ्न भनेर पहिलो पटक विदेशिएका थिए । त्यो हुटहुटी बाँकी नै थियो । यसैले जर्मनीमा पनि उनले डाम्सस्टार्डको टेक्निकल युनिभर्सिटीमा आवेदन दिए । स्वीकृत पनि भयो । तर, नेपालबाटै भिसा आवेदन दिनुपर्ने प्रावधानका कारण उनी पुन: नेपाल फर्किए।

यता आएपछि स्नातक तहको बाँकी पढाइ पनि पूरा गरे । तीन महिनाको नेपाल बसाइपछि फेरि उनी विद्यार्थी भिसामा जर्मनी फर्किए । एकातिर दिनभरी पढाइ, अर्कोतिर एक कोरियनको होटलमा रिसेप्सनमा रातको जागिर । मासिक एक हजार युरो तलब । पढ्नु पनि पर्यो, पढ्नका लागि कमाउनु पनि पर्यो । पछि पढाइ हाफे । कमाउन मात्र लागे । जर्मन भाषा राम्रै बोल्थे । जर्मनीमै यो भाषामा स्नातक तह उत्तिर्ण गरिसकेको थिए । भाषा पनि जानेको र इमान्दारी पूर्वक काम गरेको देखेर कोरियन हाकिमले रिसेप्सनबाट उनलाई एकै पटक म्यानेजरको ओहदामा लगिदियो । तलब पनि बढेर एकैपटक मासिक ३ हजार युरो । खासमा उनलाई गेस्ट रिलेसन र हस्पिटालिटीमा रुची पनि थियो । यही देखेर ती कोरियन बोसले आफूलाई म्यानेजर बनाएको उनी ठान्छन् । के चाहियो कुमारलाई ? तर, त्यसो होइन, जति जति माथि पुग्दै गए त्यसभन्दा माथि पुग्ने हुट्हुटीले उनलाई कहिल्यै छाडेन। म्यानेजरको रुपमा काम गर्दा होटल व्यवसायको अन्तरकुन्तर बुझ्ने मौका पाए । अंग्रेजी र जर्मन भाषामा आफूभन्दा कमजोर कोरियनले होटल व्यवसाय गर्न सक्छ भने मैले किन सक्दिन भन्ने उनलाई लाग्यो । ती कोरियन बोसले पनि कोरियाबाट एकैपटक पैसा ल्याएर व्यवसाय गरेका थिएनन्।

कुमार लगनशिल थिए । काममा विज्ञता हासिल गरेकै थिए । गोर्खाली कुमारमा आँट पनि उत्तिकै थियो । आफै आफ्नै व्यवसाय किन नगर्ने ? मथिङ्गल घुमाउन थाले । आफै होटल संचालन गर्ने सोच बनाउन थाले । तर, कुरो आयो, ढेवाको । पैसा कसरी जुटाउने ? जर्मनीमा त्यसबेला सामान्य होटल खोल्न पनि ३ लाख युरो अर्थात ३ करोड रुपियाँ जुटाउनुपर्ने आवश्यकता थियो । साथीभाइ गुहारे । आफन्त पुकारे । जसोतसो गर्दा पनि ७० हजार युरोभन्दा बढी जम्मा हुन सकेन।

६ महिनादेखि एक वर्षसम्मको भाडा पेश्की दिनुपर्ने । होटलका लागि आवश्यक सबै सरसामान खरिद गर्नुपर्ने । सम्भव नै देखेनन् । तर, यहीबेला भइदियो के भने एक स्थानीयले उनले होटल सञ्चालन गर्न लागेको थाहा पाएपछि बोलाएछन् । ७० हजार युरो लिएर उनी भेट्न गए । होटल भाडा मासिक रुपमा तिर्ने शर्त राखे । मञ्जुरी आयो । भर्खर २७/२८ वर्षको नेपाली ठिटोले आफै होटल खोल्ने आँट गरेको देखेर ती घरबेटी पनि प्रभावित भए सायद । यसैले उनले घरभाडा वापत एक वर्षको पेश्की एकैपटक मागेनन्।

अब फर्निचर जोड्न के गर्ने ? किस्ताबन्दीमा फर्निचर दिन फर्निचरवालाले मानेन् । पहिले काम गरेको ठाउँको फर्निचरवालासँग कुरा राखे । मासिक किस्ताबन्दीमा फर्निचर सेट गरिदिने भयो । सबै काम फटाफट हुदैँ गयो । होटल राम्रो चल्यो । ४१ कोठे होटल भरिभराउ हुन समय लागेन । होटल सञ्चालन गरेको ७/८ महिनामै सबै ऋण चुक्ता भयो । होटल सञ्चालन गरेको एक वर्षपछि साथीहरुसँग मिलेर रेष्टुरेन्ट पनि सञ्चालन भयो । साथीहरुले रेष्टुरेन्ट हेरे । उनले होटल ।

२००९ मा दोस्रो र २०१२ मा तेस्रो होटल पनि शुरु भयो । यो सबैभन्दा ठुलो होटल थियो जसमा १ सय ३४ वटा कोठाहरु थिए । २०१२ मै एनआरएनएका तत्कालिन अध्यक्ष जीवा लामिछानेसँगको सहकार्यमा प्रोपर्टी सहितको चौथो होटल पनि सञ्चालन भयो । लामिछानेदेखि एनआरएनएका अर्का अध्यक्ष शेष घलेसँग मिलेर होटलदेखि घरजग्गाको व्यवसायमा पनि हात हाले । यसरी होटलहरु बढ्दै गए । ३७/३८ को हाराहारीमा होटल सञ्चालनमा आय । अनि कुमार त कुवेर भए ।

तर, दिन सधैं एकनासको कहाँ हुन्छ र ! दुर्भाग्यवस कोभिड–१९ ले संसारलाई छोपेपछि धेरै होटल बन्द गर्नुपर्यो । हाल भने दुईतीनवटा होटलमात्रै सञ्चालनमा छ । बन्द होटलहरु पुन: सुचारु गर्ने प्रयास भइरहेको छ । तर, राम्रो दिनको प्रतिक्षामा छन्,उनी । कोरोना रोकथामसँगै सबै होटलहरु सञ्चालन गर्ने तयारीमा जुटेका छन् उनी । सम्भवत आगामी ६ महिनापछि कोरोनाको कहरबाट मुक्ति पाइने आशा उनको छ ।

होटल ब्यवसायमात्रै होइन जर्मनीको सिमा नाघेर स्विजरल्याण्डदेखि यूरोपका अन्य देशहरुमा पनि घरजग्गा ब्यवसायमा उनी सक्रिय छन्।

व्यवसायको यो उचाइ प्राप्त गरेर टाकुरामा बस्दा कुमारले कसलाई सम्झिन्छन ? उनी बोले,‘ ती ४९ वर्षीय कोरियन बोस जसले मलाई सधैं हौसला मात्र दिइररह्यो । उर्जा भरिरह्यो ।’ सबै देशका मानिसले अवसर लिइरहेका छन् भने नेपालीले किन नसक्ने ? कुमारले त्यसबेला सोचे,‘हाम्रो भाग्यमा मात्र अवसर नहुने त कतै लेखिएको छैन होला ।’ नेपालीले पनि संसारमा आफ्नो क्षमता देखाउन सक्छन भन्ने सोचले जरो गाडेपछि उनको जीवनमा नयाँ घुम्ति आयो।

मातृभूमिप्रतिको हुट्हुटी

२००३ मा उपेन्द्र महतोको नेतृत्वमा एनआरएनए गठन भयो । कुमार त्यसबखत तीनै कोरियन बोसको होटलमा काम गर्थे । यसको एक वर्षपछि २००४ मा दिल गुरुङको अध्यक्षतामा राष्ट्रिय समन्वयन परिषद्, जर्मनी गठन भयो । यसले जर्मनीको फ्रयान्कफट क्षेत्रलाई पनि समेट्नेगरी क्षेत्रिय समिति गठन गर्योे,जसको संयोजकमा कुमार चुनिए । झण्डै पाँच वर्ष उनले यही पदमा रहेर काम गरे।

२००९ मा एनआरएनए,अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यमा निर्विरोध निर्वाचित भए । २०११ मा यूरोप क्षेत्रको संयोजकमा निर्विरोध चुनिए । त्यसपछि २०१३  मा केन्द्रिय महासचिवमा निर्वाचित भए, त्यतिबेला शेष घले अध्यक्षको जिम्मेवारीमा थिए । यसैक्रममा २०१५ मा उपाध्यक्ष, २०१७ मा दोस्रोपटक फेरि उपाध्यक्ष र २०१९ मा संघको केन्द्रिय अध्यक्षमा निर्वाचित भए । यसरी एनआरएनएमा उनी निरन्तर लागि परे । जिम्मेवारी पनि बढ्दै गयो।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि उनले निवर्तमान अध्यक्ष भवन भट्टसँग निरन्तर काम गरे । यसैले पनि उनलाई एनआरएनएभित्रको जरो पहिल्याउन सकस परेन । एनआरएनएको नेतृत्वमा पुग्न र पाएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले फत्ते गर्न उनी सफल हुनुको कारण पनि यही हुन सक्छ।

गजबले पैसा कमाइरहेका कुमारले किन एनआरएनएमा लाग्ने झ्याउलो बोके ? कुमार जवाफ दिदैँ थिए,‘विदेशिएका नेपालीलाई एकआपसमा चिनजान गराउन, विदेशमा सिकेको सिप,ज्ञान, अनुभव, प्रविधिलाई नेपाल पुरयाउन र स्वदेशको विकास गर्न विदेशबाट पूँजी भित्रयाउन ।’

तर,काम गर्दै जाँदा धकेलधाकल भइहाल्छ । कुमारलाई पनि यस्तो भयो ? ‘भयो नि,तर समाजसेवा गर्ने मान्छेले बीचमा हरेस खान्छ भने गन्तव्यमा कहिल्यै पुग्न सक्दैन,’ कुमार अलि दार्शनिक सुनिए, ‘एनआरएनएको बाटो सजिलो छैन,मनैदेखि लागि परेमा समस्याको सामना गर्न सकिन्छ र समाधान पनि छ । बाधा अवरोध त कहाँ आउदैन र ?’

नेपालमा भित्रिइने रेमिट्यान्सको ३० प्रतिशत एनआरएनएको च्यानलबाट भित्रिन्छ । तर, त्यही रेमिट्यान्स भित्र्याउने कतिपय नेपालीहरु दुखपिडामा रहेकोमा कुमारको चित्त दुखाइ छ । भन्छन,‘उनीहरुलाई सहयोग गर्न जरुरी छ ।’

कोभिड–१९ ले कुमारलाई निकै अत्यायो । आफू,परिवार त यसबाट जोगिनुपर्ने नै थियो । विश्वका एक सयभन्दा बढी मुलुकमा रहेका झण्डै ८० लाख नेपालीप्रतिको जिम्मेवारी पनि थियो । अनि न एनआरएनएको अध्यक्ष । यही जिम्मेवारी बोधले एनआरएनएले विश्वका विभिन्न मुलुकमा ४ सय बढी स्वास्थ्यकर्मी परिचालन गरि कोभिडबारे जानकारी दिने काम गर्यो,जुन निकै प्रभावकारी पनि भयो । विभिन्न स्थानमा सेल्टर बनाएर कोभिडबाट प्रभावित नेपाली कामदारलाई जोगाउन उनको नेतृत्वको एनआरएनएले सलाम लायक काम गर्यो । २५ करोड बराबरको सहयोग संकलन गरि राहत वितरण तथा उद्धार कार्यमा जुट्यो,एनआरएनए।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कोरोना खोप वितरण गर्ने कार्यमा जुटिरहेको एनआरएनएले लाप्राक परियोजनामा निर्मित घरको लालपूर्जा वितरण पनि थालेको छ । चाडैँ १० अर्व बराबरको योजना नेपाल ल्याउने तयारीमा कम्पनी दर्ताको प्रक्रिया चलिरहेको छ । १ अर्व ४४ करोड संकलन भइसकेको छ । बाँकी रकम विदेशमा आइपिओ जारी गरेर संकलन गर्ने तयारी छ । यसले नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नसक्छ।

विश्वले नेपाललाई हरिकंगाल देशको रुपमा लिने गरेको कुरा कुमारलाई चित्त बुझ्ने कुरै भएन । ‘यो परिचय बदल्नु छ, नेपाल सरकार,नेपाली जनता र एनआरएनएको साझा सहकार्यबाट यो सम्भव पनि छ,’ कुमारको आँखामा आशावादी रङ देखियो,‘यसो हुन सक्यो भने नेपालको हरियो पासपोर्टलाई हेर्ने दृष्टिकोण बदल्न सकिन्छ ।’

कुराकानीको बिट मार्ने क्रममा काठमाडौं आएका कुमारले एनआरएनएको बालुवाटारस्थित मुख्यालयमा स्वार्थको कुरा गरे । ‘हो मान्छे सबै स्वार्थी हुन्छ,म पनि अपवाद होइन,’ उनले भने,‘गरिब भनेर चिनिएका नेपालीको परिचय परिवर्तन गर्नु मेरो स्वार्थ हो,यो सबै नेपालीको स्वार्थ हो।’

यतिमै उनी रोकिएनन् । जाँदाजाँदै उनले भने,‘यही मेरो संकल्प पनि हो ।’

एनआरएनएमा कार्यकाल सकिएपछि कुमार पन्तको भूमिका के होला ? उनलाई अन्तिम प्रश्न सोधियो । ‘एनआरएनएले देखेको सपनाबाट म कहिल्यै बिदा हुन्न । नेपाललाई समृद्व बनाएर संसारले नेपालीलाई सम्मान गर्ने सुनौलो बिहानीको पर्खाइमा छु म ।’
त्यो बिहान अवश्य आउला।