कोरियामा रहेका नेपालीलाई मौसमी रोजगारको अवसर

कोरियामा रहेका नेपालीलाई मौसमी रोजगारको अवसर

सौल । दक्षिण कोरियाले आफ्नो देशमा  विभिन्न भिसामा रहेका विदेशी नागरिकलाई मौसमी रोजगारको अवसर दिएको छ । कोरियाले रोजगार अनुमति (इ–९) लगायतका सबै भिसामा रहेका विदेशीलाई मौसमी रोजगारको मौका दिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार पारिवारिक भिसा (एफ–१) मा कोरिया आएको तर, कोरोनाका कारण देश फर्किन नपाएकाले पनि यो रोजगारी गर्न पाउनेछन् । त्यस्तै डिपेन्डेण्ड भिसा (एफ–३) मा रहेकाले पनि मौसमी रोजगारको लागि आवेदन दिन सक्नेछन् ।

यो रोजगारीको समयअवधि भने ३ देखि ६ महिनासम्म रहनेछ । भिसा सकेर स्वदेश फर्किन नपाएका कामदार मौसमी रोजगारीमा सम्लग्न भए ३ देखि ६ महिनासम्म भिसा थप हुनेछ ।

अध्यक्ष सुवेदीका अनुसार यो नियम आउँदो २ मार्चदेखि लागू हुनेछ । कोरोनाले महामारीले गर्दा करिव १ वर्षदेखि कोरियामा विदेशी कामदार भित्रिएका छैनन् । कोरियन सरकारले कामदारको अभावलाई परिपूर्ति गर्नका लागि यो योजना अघि बढाएको हाे ।

अघिल्ला वर्षहरुमा कोरियाले विदेशबाट मौसमी कामदार ल्याउने गर्दथ्यो । यसपटक भने कोभिडका कारण सम्भव नभएपछि आन्तरिक रुपमै अवसर सिर्जना गरेको हो ।

मौसमी रोजगारीमा कसरी सामेल हुने ?

मौसमी रोजगारी गर्न चाहानेले स्थानीय नगरपालिकामा आवेदन भर्न सकिन्छ । यसका साथै नजिकैको जब सेन्टरबाट आवेदन दिएमा पनि उक्त रोजगारीमा संलग्न हुन सकिने अध्यक्ष सुवेदीले जानकारी दिए ।