न्यूजील्याण्डमा नेपाली बढेसँगै समस्या पनि थपिदैँ,आपसमै कुटाकुट

वेलिंग्टन। शिक्षण,रोजगार र आवासीय सुविधाका कारण न्यूजील्याण्ड नेपालीका लागि आकर्षक थलो बन्दै गएको छ।
न्यूजील्याण्डमा हाल नेपालीको संख्या कति छ ? यकिन भन्न सकिने ठोस आधार छैन । एनआरएनए न्यूजील्याण्डको अनुमान अनुसार यहाँ पछिल्लो समय करिव २० हजार नेपाली रहेका छन् । यसमा विद्यार्थीको संख्या आधा छ । यसरी नेपालीको जनघनत्व बढ्दै गएको छ । जसै नेपालीको संख्या बढ्दै गएको छ,बेलाबखत नेपाली समुदायभित्र विकृर्तिका घटनाहरु पनि सार्वजनिक हुन थालेका छन् ।
जस्तो पारस भण्डारी प्रकरण यसको एउटा उदाहरण हुन सक्छ।
पारसलाई न्यूजिल्याण्ड छाड्न आदेश दिएको छ । किनकी पारसले अर्का एक नेपाली युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेछन् । आदेश नमाने उनलाई डिपोर्ट गरिने समाचारमा बताइएको छ।
न्यूजील्याण्डबाट प्रकाशित हुने अखबार स्टफले आफ्नो समाचारमा जनाए अनुसार पारस २०१८ देखि विद्यार्थी तथा काम गर्ने भिसामा न्यूजील्याण्डमा छन् । जुलाइ २०२० मा २४ वर्षीय पारसमाथि आक्रमण र ज्यान मार्ने धम्की दिएको अभियोग प्रमाणित भएको थियो ।
यी दुवै नेपाली युवा सँगसँगै मदिरापान गर्ने र पार्टीमा पनि सँगै देखिन्थे । कुटाइ खाएका युवाले पारसले न्यूजील्याण्डमा मदिरा पिउने र पार्टी गरेर पैसा उडाएको भन्दै नेपालमा पारसका अभिभावक र श्रीमतीसमेतलाई कुरा लगाइरहेका थिए।
यही हो झगडाको बिउ । आफ्नो घरमा कुरा लगाइदिएको भन्दै पारसले अर्का नेपाली युवालाई भित्तामा धकेलेर उनको अनुहार र टाउकोमा बेहोस हुँदासम्म कुटेको समाचारमा बताइएको छ । कुटाइका कारण पीडित युवाको नाक भाँचिएको थियो । मस्तिष्कमा आघात परेको थियो । अनुहारमा कैयौं चोट प्रष्ट देखिन्थे।
न्यूजील्याण्डको एक होटलमा सेफ रहेका पारसलाई ६ महिनाको सामुदायिक हिरासतसहित पीडितको उपचारका लागि १ हजार डलर तिर्नुपर्ने सजाय सुनाइएको थियो । अगस्ट २०२० मा उनलाई डिपोर्ट गर्ने नोटिस दिइएको थियो । तर, उनले यस बिरुद्घ इमिग्रेसन एण्ड प्रोटेक्सन ट्रिब्युनलमा आवेदन दिएका थिए ।
ट्रिब्युनलका अनुसार भण्डारीले आवेदनमा आफूलाई डिपोर्ट गर्न नहुने बताउँदै आफू न्यूजिल्याण्ड आएपछि असल मान्छे बनेको तर्क गरेका थिए । उनले राम्रो शिक्षा,जीवन र जीवनशैलीका लागि न्यूजील्याण्ड आउँदा ठूलो रकम खर्च गरेको भन्दै आफू कोभिड–१९ महामारीका बेला अत्यावश्यक कामदार रहेको पनि दावी गरेका थिए । डिपोर्ट गरिँदा आफू र परिवारको इज्जतमा दाग लाग्ने तर्क गरेका थिए ।
तर, ट्रिब्युनले भण्डारीको आग्रह अस्विकार गर्यो । पारसको भिसा निर्णय जारी भएको २८ दिनमा रद्द हुने निर्णय गरिदियो । यदि उनले डिपोर्ट हुनबाट बच्न चाहेको भए २८ दिनभित्र न्यूजील्याण्ड छाड्नुपर्ने र यदि यो अवधिमा कोभिड प्रतिबन्धका कारण उडान नपाए अस्थायी भिसाका लागि आवेदन दिनुपर्ने छ ।
न्यूजील्याण्डमा जसैजसै नेपालीहरुको उपस्थिती देखिदैं गएको छ,समस्याका चाङ पनि उत्तिकै थपिदैँ गएको छ । ‘प्रहरी र अदालतसम्म नपुगेका नेपालीसँग जोडिएका कतिपय समस्याहरु हामीले मिलाएका छौं,’ एनआरएनए न्यूजील्याण्डका अध्यक्ष लालबहादुर केसी भन्छन,‘तर प्रहरीले अघि बढाइसकेको र अदालत प्रवेश गरिसकेका नेपाली जोडिएका केसहरुमा हामीले केही गर्ने ठाँउ हुदैन ।’
अध्यक्ष केसीका अनुसार,न्यूजील्याण्डको नियम,कानून बुझ्ने र सतर्कता अपनाउने हो भने केही सपना बोकेर आएका नेपालीहरु समस्यामा पर्नबाट जोगिन सक्छन । ‘नेपाली समुदायमाझ अब जनचेतनाका कार्यक्रम लिएर जानुपर्ने आवश्यकता देखिएको छ,एनआरएनएले यसका लागि पहल शुरु गरिसकेकोछ,’ अध्यक्ष केसी भन्छन, ‘न्यूजील्याण्डबाट हामीले सिक्नुपर्ने कुराहरु धेरै छन्,हाम्रो ध्यान यतातिर पनि केन्द्रित हुनुपर्छ ।’
ताजा अपडेट

सोती घटना : २३ जनालाई जन्मकैदको फैसला
