जापानमा कोरोनाविरुद्दको खोपलाई स्वीकृति, यस्तो छ लगाउने प्रक्रिया

जापानमा कोरोनाविरुद्दको खोपलाई स्वीकृति, यस्तो छ लगाउने प्रक्रिया

टोकियो। जापान सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्दको खोपलाई स्वीकृति दिएको छ । १४ फेब्रुवरीमा खोप स्वीकृत भए लगत्तै जापानमा बुधवारबाट स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गरिंदैछ।

जापान सरकारको खोप लगाउने मापदण्ड अनुसार पहिलो प्राथमिकता वृद्धवृद्धा र दिर्घरोगी रहेका छन् । त्यसपछि मात्र १६ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिले खोप लगाउन पाउने छन् । तसर्थ सर्वसाधारणले कोरोनाविरुद्धको खोप लगाउन अझै तीन महिनाको समय कुर्नुपर्ने देखिन्छ।

विदेशी नागरिकको हकमा भने नगरपालिका वा स्थानिय निकायमा नाम दर्ता गराई खोप उपलब्ध गराउने जनाएको छ । नाम दर्ता भइसकेपछि जापानको सबै सहरहरुमा एकैपल्ट निःशुल्क खोप वितरण गर्ने जापान सरकारले जनाएको छ ।

जापानमा कोरोनाविरुद्धको खोप स्वीकृत भइसके पनि जापानमा रहेका २२ लाख विदेशी भने खोप लगाउने प्रक्रियाबारे प्रष्ट छैनन् । जापानमा करिव १ लाखको संख्यामा नेपालीहरु बसोबास गर्दै आइरहेका छन् । कोरोनाको खोपबारे जापानमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि केहि प्रश्नको जवाफ यस लेखमा समेटिएको छ ।

खोप प्रक्रियामा अहिले के भइरहेको छ ?

पहिलो चरणमा फेब्रुवरी १२ तारिख शुक्रबार ४ लाख खोेप जापानमा आइपुगेको छ । फेब्रुवरी १३ तारिखमा स्वास्थ्य विज्ञबाट स्वीकृत भएको थियो । त्यसपश्चात जापान सरकारले फेब्रुवरी १४ मा औपचारिक रुपमा खोप लगाउन स्वीकृति दिएको हो ।सरकारको स्वीकृतिसँगै बुधवारबाट चिकित्साकर्मीहरुलाई खोप लगान सुरु गरिनेछ।

अन्य प्राथमिकतामा रहेका समूहले भने अप्रिल १ भन्दाअघि पहिलो चरणको खोप प्राप्त गर्ने अपेक्षा गरिएको छ । लगत्तै अप्रिल १, १९५७ वा त्यो भन्दा अघि जन्मिएकालाई खोप लगाइनेछ । यसैगरी वृद्धवृद्धा हेरचाह केन्द्रमा काम गर्ने व्यक्तिलाई पनि प्राथमिकताको सूचिमा समावेश गरिएको छ । यस पश्चात भने आम रुपमा खोप लगाउन थालिनेछ।  विदेशी नागरिकले जापानी नागरिकले जस्तै एकै समयमा खोप प्राप्त गर्नेछन।

जोखिममा रहेका विदेशीले प्राथमिकता पाउँछन् ?

स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधिका अनुसार विदेशी नागरिकलाई पनि एकैपटक खोपहरू प्रदान गरिनेछ । साथै, प्राथमिकताको समूहमा रहेका विदेशीलाई जापानी नागरिकको कोटामै राखेर खोप दिइनेछ । उदाहरणका लागि दिर्घरोगी विदेशी नागरिकलाई जापानी दिर्घरोगी व्यक्ति सरह प्राथमिकता राखेर खोप लगाइनेछ ।

कस्ता भिसामा बसेका विदेशी नागरिक खोप लिन योग्य छन ?

जापानको आवासीय अनुमतिपत्र (जाईर्यु कार्ड) प्राप्त भएका, जापानमा रहेका सबै विदेशी वा जापानी भाषामा ज्युमिन्ह्योु प्राप्त सबै विदेशी नागरिक खोप भौचर लिन सक्षम हुनेछन् । अर्थात् उनीहरुको घर ठेगानामा नै खोप लगाउन भौचर पठाइनेछ । जापानमा कानूनी मापदण्ड पूरागरि बसोबास गर्ने सबै व्यक्ति खोपका लागि योग्य हुने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइ छ ।

जो बेरोजगार छन्, कारणबस जापानबाट निकालिने अवस्थामा छन् र जापान बस्ने सीमित समय बाँकी भएकाले खोप लिन पाउँछन् ?

यस्ता परिस्थितिमा रहेका व्यक्तिलाई कसरी खोप प्रक्रियामा समेट्न सकिन्छ भन्नेबारे सरकारले अझै पूनरावलोकन गरिरहेको छन्। अधिकारीहरुबाट यस्ता अवस्थामा रहेका व्यक्तिलाई खोप दिन सकिन्न भन्ने जवाफ नआएकाले कस्तो प्रक्रिया अपनाउन सकिन्छ भन्नेमा काम गरिरहेको देखिन्छ ।

खोप लिनको लागि कति शुल्क तिर्नु पर्छ, खर्च कति लाग्छ ?

जापान सरकारको पूर्ण लागतमा खोप वितरण गरिनेछ। सरकारले सार्वजनिक कोषमार्फत खोपको व्यवस्था गरेको स्पष्ट पारिसकेको छ । यसको अर्थ जापानी वा विदेशी नागरिक जो खोप लगाउन योग्य हुनेछन् उनीहरुले निःशुल्क खोप लगाउन पाउनेछन् ।

एक व्यक्तिले कति मात्रा खोप लगाउनु पर्छ ?

जापान सरकारको वर्तमान खरीद योजना अन्तर्गत प्रत्येक व्यक्तिले दुई मात्रा खोप प्राप्त गर्न सक्नेछन् । पहिलो खोप लगाएको तीन साताको अन्तरालमा दोस्रो खोप लगाउनुपर्नेछ ।

खोप लगाउनेबारे कसरी सूचना आउँछ ? कहाँ गएर खोप लगाउने ?

खोप अवधिभन्दा पहिले नगरपालिकाले सबै नागरिकलाई खोप भौचर पठाइनेछ । खोपको लागि रजिष्टार गरिएको ठेगानाम नगरपालिकाले भौचर पठाउनेछ । खोप लिन योग्य छ छैन जाँच गरेपछि खोप लिने व्यक्तिले स्वास्थ्य संस्था वा सरकारले सार्वजनिक वेबसाइटको प्रयोग गरि खोप लिन सकिनेछ । खोप लगाउन जानुअघि फोन वा अनलाइनमार्फत खोप लगाउने दिन र समय निर्धारण गरेर जानुपर्ने हुन्छ।

स्वास्थ्यकर्मीहरु जसले पहिले नै खोप प्राप्त गरिसकेका छन्, उनीहरुलाई पनि नगरपालिकाले भौचर पठाउनेछ । स्वास्थ्यकर्मीले पहिले नै खोप लिइसकेकोले उनीहरूलाई आफ्नो काम गर्ने ठाउँ र खोपकोबारेमा जानकारी गराइनेछ ।

भौचर र खोपबारे अनलाइनमा कुन भाषा प्रयोग हुन्छन् ?

अहिलेसम्म जापानीबाहेक अन्य भाषाको लागि कुनै प्रावधानको पुष्टि भइसकेको छैन । तर, जापानको कुनै पनि स्थानका बासिन्दाले उनीहरूको बसोबास सम्बन्धी जानकारीका लागि स्थानीय सरकारको वेबसाइट जाँच गर्नुपर्ने हुन्छ।

नगरपालिकाले अन्य भाषाहरू वा बहुभाषिक परामर्श सेवाहरूको अतिरिक्त विवरणहरू राख्न सक्नेछन् । बिदेशी वासिन्दाको बाक्लो बसोबास रहेका टोकियोका कयौं वार्डहरु सहित देशका विभिन्न प्रमुख शहरहरुमा अंग्रेजी सहितका कयौं भाषामा यस्ता जानकारी उपलब्ध गराउने तयारी रहेको जनाएको छ । तर जापान सरकारले भने जापानी बाहेकको बहुभाषामा जानकारी उपलब्ध गराउनेबारे केही जानकारी दिएको छैन ।

कतिपय समाचारमा खोप, माई नम्वर व्यक्तिगत सामाजिक सुरक्षा र कर नम्बर प्रणालीमा समावेश गरिने बताइएको छ ।

के खोप लगाउनको लागि माई नम्वर कार्ड प्रस्तुत गर्न आवश्यक छ ?

स्वास्थ्य मन्त्रालयका अनुसार कुनै पनि व्यक्तिले माई नम्वर कार्ड देखाउनुसर्ने आवश्यकता छैन । यसको सट्टामा व्यक्तिहरूले चालक इजाजतपत्रलगायत व्यक्तिगत पहिचान हुने कागजपत्रका साथ खोप भौचर लिएर उपस्थित भए पुग्छ।

के मैले खोप लगाउनै पर्छ ?

कोरोना भाइरस खोपहरू अनिवार्य छैन । खोपबारे व्यक्तिलाई राम्रोसँग जानकारी गएपछि मात्रै उनीहरुको सहमतीमा लगाइनेछ छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिने व्यक्तिलाई खोपको प्रभावहरू र साइड इफेक्टको जोखिम दुवै जानकारी दिइ स्वीकृति मागिनेछ । बिना सहमति खोप लगाइनेछैन् ।