कतार प्रहरीमा रोजगारी प्रकरण : ढुङ्गा बोल्ला तर श्रममन्त्री बोल्दैनन्

कतार प्रहरीमा रोजगारी प्रकरण : ढुङ्गा बोल्ला तर श्रममन्त्री बोल्दैनन् आइतवार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरी

काठमाडौं । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी आइतवार पत्रकार सम्मेलन गर्दै थिए।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामा कलम चलाउँदै आएका पत्रकारहरुको बाक्लै उपस्थिती थियो । औपचारिक रुपमा दोस्रो पटक मन्त्री–पत्रकार आमुन्ने सामुन्ने थिए।

मन्त्री चौधरी आफ्नो मन्त्रालयको चालु आर्थिक वर्ष ०७७/०७८ को अर्धवार्षिक प्रगती विवरण र समग्र प्रगतीबारे पत्रकारलाई बताउन चाहिरहेका थिए । तर, पत्रकारहरु भने अलग जिज्ञासाका साथ उपस्थित थिए । कतार प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तर्वार्ता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही मन्त्री चौधरीले फुकुवा गरेका थिए । पत्रकारहरु यही सन्दर्भमा मन्त्री चौधरीलाई सोध्न चाहिरहेका थिए,फुकुवा किन, के आधारमा ?

उपस्थित पत्रकारमध्ये केहीले फुकुवा प्रकरणबारे मन्त्री चौधरीसँग जवाफ खोजिरहेका थिए । तर, उनी यो विषयमा प्रवेश नै गर्न चाहेनन । पत्रकारहरुले अन्तिम समयसम्म पनि मन्त्री चौधरीबाट जवाफको आशा राखेका थिए । तर, त्यसो हुन सकेन । निकै विवादित बनेको यो विषयमा मन्त्री चौधरी चुँइक्कसम्म पनि बोल्न चाहेनन्।

वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बन गरेर छानविन गरिरहेकै बेला मन्त्री चौधरीले मन्त्री पदमा बहाली भए लगत्तै ९ माघमा निलम्बन फुकुवा गरेपछि यो बिषय विवादित बनेको थियो । ८ मंसिरमा एसओएसले गैरकानूनी रुपमा अन्तर्वार्ता लिइरहेकै बेला विभागको अनुसन्धान टोलीले हस्तक्षेप गरी कारबाही गरेको थियो । एसओएस सहित डीडी हयुमन रिसोर्स र होप इन्टरनेशनललाई ६ महिनाका लागि निलम्बन गरेको थियो । तर, मन्त्री चौधरीले ६ महिना नपुग्दै एसओएउसको निलम्बन भने फुकुवा गरिदिए।

आइतवार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन

विभागले एसओएसमाथि गरेको निलम्बनमा कानूनी प्रक्रिया पूरा नगरेको भन्दै मन्त्री चौधरीले विभागलाई आफुले फुकुवा गरेको निर्णयसहितको पत्र पठाएका थिए । उक्त निर्णयमा भनिएको छ,‘ ‘विभागबाट मंसिर ८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम एसओएसले वैदेशिक रोजगार ऐनको दफा १५ र १६ विपरीत कामकारबाही गरेको पुष्टि हुने कागजात प्रमाण बरामद भएको नदेखिएकोसाथै विभागबाट मंसिर ८ गते नै ऐनको दफा ६१ को उपदफा ७ बमोजिम संस्थाको हाल ६ महिनाका लागि सम्पूर्ण कामकारबाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायिक सिद्धान्तविपरित एवं कानुनसम्मत भएको नदेखिँदा विभागबाट गरिएको उक्त निर्णय बदर गरी एसओएसले नियमित कामकारबाही गर्न पाउने निर्णय गरिदिएँ ।’

आखिर मन्त्री चौधरीले एसओएसको निलम्बन फुकुवा गर्न किन यति हतारिए ? त्यो पनि आफ्नै मातहतको विभागको मनोबल गिर्ने गरी ? अनि किन मन्त्री चौधरी यो प्रकरणमा संचारकर्मीले राखेको जिज्ञासाबाट उम्किन चाहन्छन ? यो रहस्यको विषय बनेको छ ।

एसओएस लगायतका म्यानपावरहरुलाई निलम्बन गरिए पनि केही नेपाली युवा भारतीय विमानस्थल प्रयोग गरेर अवैध रुपमा कतार पुगिसकेको तथ्यले देखाएको छ ।

यो पनि पढ्नुहोस्

कतार प्रहरीमा जागिर खुवाउन भारतीय विमानस्थलबाट अवैध रुपमा लगिदैछन् नेपाली युवा